• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनका ३ दलको दाबी, सम्भावना कस्को ?

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउने विषयमा सत्तारूढ दलका बीचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । 

आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो ।

संवैधानिक परिषद्को सदस्यसमेत राष्ट्रिय सभाका अध्यक्ष हुने संवैधानिक व्यवस्था भएकाले त्यहाँबाट हुने नियुक्तिलगायतका काममा अध्यक्षको प्रभावकारी भूमिका हुन्छ । 

सत्तारूढ दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेका छन् । 

शीर्ष नेताका बीचमा यस विषयमा औपचारिक÷अनौपचारिक छलफल हुँदै आएको छ । सत्तारूढ गठबन्धनको बैठकमा समेत यस विषयमा छलफल भए पनि तीनै दलका आआफ्नै दाबीका कारण सहमति जुट्न सकेको छैन ।

सुरुमा अनौपचारिक छलफलमा टुंगो लगाउने प्रयास भएको तर तीनै जना नेताले आ–आफ्नो दाबी नछोडेपछि औपचारिक बैठकमा समेत यस’दयगतमा टुंगो लाग्न नसकेको कांग्रेसका एक पदाधिकारीले बताए ।

बिहीबार सत्तारूढ दलको बैठक प्रधानमन्त्री निवास बालुटारमा बस्यो । संघीयता कार्यान्वन, राष्ट्रिय सभाका अध्यक्षसहित समसामयिक विषयमा छलफल भएको बताइएको छ । तर, नेताहरूका बीचमा कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतको दाबी छ ।

माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दलका साथै संवैधानिक परिषदमा प्रतिनिधित्व लगायतका कारणले अध्यक्षमा माओवादीको दाबी हुनु स्वाभाविक भएको बताए । उनले सत्तारूढ दलका शीर्ष नेताका बीचमा हुने छलफलबाटै छिट्टै नै टुंगो लगाउने बताए ।

तर, कांग्रेस र एकीकृत समाजवादीले आफ्नो अडान छाडेका छैनन् । कांग्रेस सभापति देउवा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले पाउनुपर्ने अडानमा छन् । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारूढ दलका बीचमा छलफल गरेरै अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्षको छिट्टै नै टुंगो लाग्ने बताउँदै आएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि २० फागुनबाट सकिँदै छ । त्यसलगत्तै सो पद रिक्त हुँदै छ । 

राष्ट्रियसभामा माओवादी केन्द्रका उपाध्यक्ष छन् । माओवादी केन्द्रकी नेतृसमेत रहेकी राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याललाई प्रधानमन्त्री प्रचण्डले अध्यक्ष बनाउन खोजेका बताइएको छ । कांग्रेसले कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीले डा. बेदुराम भुसाललाई राष्ट्रिय सभा अध्यक्षमा अघि सारेको छ । राजधानीबाट

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर