• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

माओवादी निचाेडः पार्टीले बर्गीय धरातल छोड्यो  

काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेताहरूले पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा चारमहिने अभियानको रिपोर्टिङ राख्ने नेताहरूले तल्लो वर्गलाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् । 

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने अधिकांश नेताहरूले तल्लो वर्गमा पार्टीलाई क्रियाशील बनाएर बलियो बनाउनुपर्ने सुझाव दिएको बताए ।

“पहिला पार्टी सबल, सुदृढ हुँदै राम्रा उपलब्धि हासिल गर्‍यो । नेता कार्यकर्तामा वर्ग दृष्टिकोण राम्रोसँग प्रकट हुन्थ्यो । तल्लो वर्गमा पार्टी सधैँ क्रियाशील भएकाले बलियो भयो,” उनले भने, “अहिले पार्टीले वर्ग छोडेर वर्ग दृष्टिकोण कमजोर हुँदै गयो । जसले गर्दा कतिपय सन्दर्भमा तिखा आलोचना हुने गरेका छन् ।”

प्रवक्ता सापकोटाले पार्टीको चारमहिने अभियानमा ठुलो जनपरिचालन, विकास निर्माणलगायत विविध रचनात्मक कार्यक्रम भएको बताए । 

माओवादी केन्द्रले अभियान चलाएपछि पार्टी छाड्ने क्रम रोकिएर अरू पार्टीबाट आउने क्रम बढेको नेताहरूले रिपोर्टिङ राखेका छन् । प्रवक्ता सापकोटाले पार्टी बैठकमा नेताहरूले अभियानका क्रममा घाइते, अपाङ्गता भएका र बेपत्ता परिवार धेरै पीडित भएको उल्लेख गरेको बताए ।

“पीडित परिवार बेपत्ता भएको परिवार आउँछ कि भनेर आशामा पर्खेर बसेका छन् । सबैको जोडदार माग हाम्रो परिवार कसरी बेपत्ता भए भनेर तथ्यगत जानकारी दिइयोस् भन्ने छ,” उनले भने । उनले बैठकमा नेताहरूले पार्टीको अभियानमा ७५ प्रतिशत नेता कार्यकर्ता सक्रिय भएको तथ्याङ्क आएको जानकारी दिए । 

“पार्टीको चारमहिने अभियानबाट पार्टी सेल कमिटीसम्म सङ्गठन बनेका छन् । जनवर्गीय सङ्गठनको एकाइसम्म कमिटी बनेको रिपोर्ट प्रस्तुत भएको छ ।  रिपोर्टमा कसले कति काम गर्‍यो ? को सक्रिय र को निष्क्रिय भयो भन्ने कुरा आएका छन् । यसबाट मूल्याङ्कनको राम्रो आधार बन्यो,” उनले भने ।

पार्टीको अभियानबाट मूल्याङ्कन गर्नुपर्ने पद्धतिको विकास भएको बताउँदै उनले सक्रिय व्यक्तिलाई प्रोत्साहन र निष्क्रिय व्यक्तिलाई दण्डित गर्नुपर्ने विषय उठेको बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर