• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मस्को कन्सर्टमा आक्रमण, मृत्यु हुने १ सय ३३ पुगे

काठमाडौं । मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा प्रत्यक्ष संलग्न चारसहित ११ जनालाई नियन्त्रणमा लिएको रुसको अनुसन्धान समिति (आईसीआरले) जानकारी दिएको छ ।

कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो ।

यस पटक भने राजधानी मस्कोको केन्द्र क्रेमलिनभन्दा २० किलोमिटरको दूरीमा रहेको क्रोकस सिटी हलमा ठूलो आक्रमण गरेको छ । ६ हजारभन्दा बढी व्यक्ति सहभागी हुन सक्ने क्षमताको क्रोकस सन् २००९ मा स्थापना गरिएको मस्कोको लोकप्रिय कन्सर्ट हलमा पर्छ । क्रास्नोगोर्क उपनगरमा रहेको उक्त हलमा तत्कालीन सोभियत संघको पालादेखि चर्चित रहेको रक ब्यान्ड ‘पिकनिक’ को कन्सर्टमा सहभागी हुन मानिसहरू जम्मा हुँदै थिए ।

कन्सर्ट सुरु हुनुअगावै खचाखच भरिएको कन्सर्टमा केही व्यक्ति स्वचालित हतियार बोकेर प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूले विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए, जसका कारण हलमा भागदौड मच्चिनुका साथै आगलागी भएको समाचार संस्था अलजजिराले जनाएको छ । घटनापछि आगो निभाउन हेलिकोप्टर र दमकलहरूको प्रयोग गरिएको थियो । त्यसपछि भवनको भित्री भागमा र छतमा रहेकाको उद्धार गरिएको थियो ।

घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने रुसी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर