• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

अमेरिकाको एचवानबीमा छानिएकालाई नोटिफिकेशन पठाउन सुरु, भिसा प्रकृया अप्रिल १ बाट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा छानिएकाहरुलाई युएससीआईएसले मार्च २७ बुधबारदेखि नै नोटिफिकेशन पठाउन सुरु गरेको जनाएको छ । अप्रिल १ भन्दा अगाडि केहीदिनसम्म नोटिफिकेशन पठाउने क्रम जारी रहने युएससीआईएसले जनाएको छ । छनौट भएकाहरुका लागि अप्रिल १ बाट भिसा प्रकृया सुरु गर्न सकिनेछ ।

अमेरिकाको कामदार भिसा एचवान बीका लागि लोटरीमा सहभागी हुन अनलाइन दर्ता मार्च ६ बाट मार्च २५ को मध्यान्ह १२ बजेसम्म थियो ।  हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराएको थियो । यो नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिनेछ । पूर्ण आवेदनको अवस्था हेर्नका लागि यो नम्बर प्रयोग गर्न सकिनेछैन । हरेक व्यक्तिको दर्ताका लागि १० डलर शुल्क लिइएको थियो ।

यसपटकदेखि आवेदकको पासपोर्ट नम्बर वा यात्रा अनुमति कागजातको विवरण समेत पेश गर्नुपर्ने नियम रहेको थियो ।  आवेदकको त्यही पासपोर्ट नम्बर प्रयोग गर्नुपर्नेछ, जुन पासपोर्ट यदि लोटरीमा छनौट भएर कामदार भिसा एचवानबीमा अमेरिका आउनुपरेको खण्डमा प्रयोग गरिनेछ ।

एचवान बी कामदार भिसाको कोटा ६५ हजार रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ । यसरी एउटा आर्थिक बर्षका लागि कुल भिसा संख्या ८५ हजार रहेको छ ।

अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।


कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर