• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई हरायो

काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ शेखवाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा जितको अन्यन्तै नजिक पुगेर पनि नेपाली टोलीले लक्ष्य चुम्न सकेन ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १९.३ ओभरमा अलआउट हुनुअघि दुई सय एक रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर लोकेश बमले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीको जितमा एक सय ६ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले यसका क्रममा ५६ बलको सामना गरी आठ छक्का र नौ चौका हिर्काएका थिए ।

त्यसअघि उनले केवल ५२ बलमा आफ्नो शतक पुरा गरेका थिए । त्यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । लोकेश बम र पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफ शेखले टोलीका लागि एक सय २१ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

लोकेश र आरिफ आउट भएपछि किरण ठगुन्ना दुई र बसिर अहमद तीन रनमै आउट भएका थिए । रासिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले त खातासम्म खोल्न सकेनन् । सागर ढकाल एक रनमा अविजित रहे ।

त्यसअघि कप्तानसमेत रहेका ओपनर विनोद भण्डारी भने १६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विनोदले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । देव खनाल भने शून्य रनमै पेभेलियन फर्किए । 

आयरल्यान्डका बलर फियोन ह्यान्ड र म्याथ्यू हमफ्रेयसले तीन–तीन विकेट लिए । म्याथ्यू फोष्टरले पनि दुई विकेट हात पारेका थिए । थोमस मायस र गाभिन होएले पनि एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान पिटर मुरले सर्वाधिक ४९ रन बनाएका थिए ।

नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारेका थिए ।

जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन टी–२० खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार खेलिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर