• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नयाँ वर्षमा घुम्नका लागि काठमाडौं नजिकैका १० ठाउँ

यसपालि नयाँ वर्षको पहिलो दिन शनिबार परेको छ। धेरैले शुक्रबारै कतै गएर बस्ने सोच बनाइरहनुभएको होला। काठमाडौं नजिक घुम्नका लागी ठाउँ कहाँ होला भनेर अलमल पनि हुन सक्छ।

नयाँ वर्षको अवसरमा घुम्न जान सक्नुहुन्छ यी ठाउ, यहाँ घुम्ने, हाइकिङ र एड्भेन्चर (साहसिक) गतिविधि गर्न सकिने ठाउँहरू उल्लेख छन्।

सुकुटे

काठमाडौंबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय गन्तव्य हो। यो ठाउँ विशेषगरी र्‍याफ्टिङका लागि स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्छ। अहिले सुकुटे एड्भेन्चर हबकै रूपमा विकास भइसकेको छ।

र्‍याफटिङसँगै बन्जी, क्यानोनीङ, रक क्लाइम्बिङ, जंगल सफारी, जिपलाइन, ह्याम्मक केबलकार, ३६० डिग्री स्विङ र स्काई साइक्लिङ सुकुटेका आकर्षण हुन्।

एक दिनमै धेरै एड्भेन्चरको मजा लिन सकिन्छ र काठमाडौं फर्किन सकिन्छ। बस्न र खान सुनकोशी र भोटेकोशीको बगरभरि रेस्टुरेन्टहरू छन्। खोलाको बगरमा टेन्टमा बस्न पनि पाइन्छ।

धुलिखेल

काठमाडौं उपत्यकामा बस्नेहरूका लागि धुलिखेल पहिलो नम्बरमै पर्ने पर्यटकीय गन्तव्य हो भन्दा फरक पर्दैन। काठमाडौंबाट ३१ किलोमिटर दुरीमा रहेको धुलिखेलमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्।

यहाँ नमोबुद्ध, हजार सिँढी घुम्न र जिपलाइनमा रमाउन जान सकिन्छ। त्यस्तै गणेश, लाङटाङ, ल्होत्से, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ।

एक दिन बस्ने हो भने यहाँ साना(ठूला सबै खाले होटल पर्याप्त छन्। बिहान हाइकिङ गर्न सकिने ठाउँ पनि छन्। धुलिखेल परिवारिक घुमघामका लागि राम्रो मानिन्छ।

बेथानचोक

काभ्रेको बेथानचोक पछिल्लो समय रूचाइएको ठाउँ हो। काठमाडौंबाट ४४ किलोमिटर दुरीमा रहेको बेथानचोक एक दिन बसेर फर्किँदा उपयुक्त हुन्छ। तीन घन्टा गाडीमा यात्रा गरेर पाँच घन्टा पदयात्रा गरेपछि बेथानचोक पुगिन्छ।

यहाँबाट सगरमाथा, धौलागिरि, मकालु, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा लगायत हिमाल नजिकबाट देखिन्छ।

यहाँ जानेहरूले क्याम्पिङको मजा लिन सक्नेछन्। सूर्योदय र सूर्यास्त हेर्न पनि यो ठाउँ रमाइलो छ।

नगरकोट

काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा रहेको नगरकोट सूर्योदय हेर्ने ठाउँका रूपमा प्रख्यात छ। नगरकोटबाट धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से लगायत हिमाल देखिन्छ।

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटमा साना(ठूला सबै खाले होटल छन्। यहाँ एक वा दुई दिनसम्म बिताउन सकिन्छ।

अहिले नगरकोटमा साहसिक खेल जिपलाइन पनि चल्न थालेको छ।

भोटेचौर

सिन्धुपाल्चोकको भोटेचौर पनि लोकप्रिय गन्तव्य हो। यो चिया बगान मिनी इलाम नामले परिचित छ। काठमाडौंबाट ३८ किलोमिटर दुरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरतामा रमाउने र फोटो खिचेर आनन्द लिनेहरूका लागि रमाइलो हुन सक्छ।

भोटेचौर जान चाबहिलबाट सार्वजनिक गाडी पाइन्छ। करिब दुई घन्टामै पुगिन्छ। बस्न र खान सुविधासम्पन्न होटलहरू छन्।

ककनी

नुवाकोटको ककनी पनि काठमाडौं नजिकैको चर्चित पर्यटकीय स्थल हो। 

काठमाडौंबाट २२ किलोमिटर दुरीमा रहेको ककनीको आकर्षण भ्यूटावर, ट्राउट माछा र स्ट्रबेरी खेती हुन्। यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर, जुगल लगायत हिमाल देखिन्छ।

यहाँ गएर एक दिनमै फर्किन सकिन्छ। वा बस्न चाहे थुप्रै होटलहरू छन्। हाइकिङका लागि पनि ककनी प्रसिद्ध छ।

चिसापानी

काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चिसापानी हाइकिङका लागि प्रसिद्ध छ। सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै हाइकिङ गर्न सकिन्छ। आफ्नो सवारी साधनमा पनि पुग्न सकिन्छ।

यहाँको आकर्षण शिवपुरी राष्ट्रिय निकुञ्ज, धाप ड्याम, हैबुङ हुन्। त्यस्तै गौरीशंकर, लाङटाङ लगायत हिमाल देख्न सकिन्छ।

हाइकिङ जाने हो भने चिसापानीबाट नगरकोट हुँदै काठमाडौं फर्किने रूट पनि छ। चिसापानीबाटै फर्किने हो वा त्यहीँ रात बस्ने हो भने होटलहरू पनि छन्।

सिम्बा फल

सिम्बा फल अर्थात् सिम्बा झरना। खोला, जंगल र झरनामा रमाउनेका लागि यो उपयुक्त ठाउँ हुन सक्छ। सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा रहेको महांकाल गाउँपालिका वडा नम्बर १ बुखेलको खावा भञ्ज्याङ र वडा नम्बर २ को रिगिन खोलामा पर्छ।

यो झरनामा प्रायः शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ। सिम्बा फल काठमाडौंबाट एक दिनमै पुगेर फर्किन सकिन्छ।

ललितपुरको सातदोबाटोबाट चापागाउँ, लेले, भारदेव, चौघरे, गोटिखेल हुँदै मानिखेल पुगिन्छ। मानिखेलबाट रिगिन दोभान हुँदै हिँडेर करिब एक घन्टाभन्दा कम समयमै झरना पुगिन्छ।

चित्लाङ

मकवानपुरको चित्लाङ चिसोको आनन्द लिने ठाउँ हो। काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चित्लाङमा बस्नका निम्ति होटल तथा होमस्टेको व्यवस्था छ। 

अहिले चित्लाङमा साहसिक खेल पाराग्लाइडिङको पनि मजा लिन सकिन्छ। चन्द्रगिरिको जंगलबाट पाराग्लाइडिङ गर्दै चित्लाङ पुगिन्छ। 

कुलेखानी

एक दिने घुमघामका लागि मकवानपुरको कुलेखानी पनि उपयुक्त ठाउँ हो। काठमाडौंबाट ४५ किलोमिटर दुरीमा रहेको कुलेखानीमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्।

कुलेखानीको पोखरीमा डुंगा सयर गरेर रमाउन सकिन्छ। दुई दिनको योजना बनाउने हो भने कुलेखानीबाट भोलिपल्ट बिहान हाइकिङ गर्दै मोहिनी झरना पनि जान सकिन्छ।

कुलेखानीमा बस्न र खान सुविधायुक्त होटलहरू छन्। यस्तै यहाँ माछाका परिकारको स्वाद लिन पाइन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर