• २०८१ श्रावण ८ मंगलबार
  • Tuesday, 23 July, 2024

कविताः नयाँ वर्ष - भूपी शेरचन

नयाँ सरुवा भई आएको हुलाके झैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगुर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्......ट्वाक्........ट्वाक्........ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको वर्षात
बेला–कुबेलाको वादलको गड्याङ–गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ......
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरू
मध्यान्ह दिन
चर्को घाम
सारा रूखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी साथीहरूको सूची बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरू बोकेर, उडिरहेका हवाइजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर