• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

तेस्रो जितको खोजीमा नेपाल

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो ।

जारी प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले शनिबार खेलिएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

कतारविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पाली खेलेका थिए । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल २१ बलमा अविजित ६४ रन बनाएका थिए । यस क्रममा उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए । उनले अन्तिम ओभरमा कतारका बलर कमरान खानको बलमा लगातार ६ वटा छक्का हिर्काएका थिए ।

पुरुष टी–२० क्रिकेटको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने उनी नेपालका एकमात्र ब्याट्सम्यान हुन् । विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी केवल तेस्रो खेलाडी हुन् । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युवराज सिंह र केइरन पोलार्डले यस्तो उपलब्धि हासिल गरेका थिए ।

भारतका युवराज सिंहले सन् २००७ को आईसीसी टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध र वेस्ट इन्डिजका केइरन पोलार्डले सन् २०२१ मा खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए ।

कतारविरुद्धको खेलमा दीपेन्द्रले दुई विकेट पनि लिएका थिए । दीपेन्द्रका अतिरिक्त नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतकीय पाली खेलेका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ४१ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाएका थिए ।

जारी एसीसी प्रिमियर कपमा नेपाल दुई खेलबाट चार अङ्क बटुल्दै समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेलबाट दुई अङ्क जोडेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यसैगरी दुई खेलबाट दुई अङ्क बटुलेको मलेसिया तेस्रो स्थानमा छ । दुई खेलबाट दुई अङ्क हात पारेको हङ्कङ भने चौथो स्थानमा झरेको छ । हङ्कङ आफ्नो पछिल्लो खेलमा आइतबार साउदी अरेबियासँग ५५ रनले हारेको थियो ।

यसैगरी दुई खेल खेलेको कतारले भने हालसम्म अङ्क बटुल्न सकेको छैन । प्रतियोगिताअन्तर्गत सोमबार नै समूह ‘ए’ को अर्को खेल मलेसिया र कतारबिच खेलिने छ । सोही दिन समूह ‘बी’ मा रहेका ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) तथा कुवेत र बहराइन आपसमा भिड्ने छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर