• २०८१ श्रावण ८ मंगलबार
  • Tuesday, 23 July, 2024

गजलकार प्रकट पंगेनीको निधन

पोखरा । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए । 

उनी केही समयदेखि जण्डिस र निमोनियाका बिरामी थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

उनको उपचारमा आर्थिक अभावसमेत देखिएपछि आफन्त र घर परिवारको आग्रहमा साँस्कृतिक परिवारले मंगलबारदेखि नै आर्थिक संकलन अभियान सुरु गरेको थियो ।

उनको उपचारमा पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

कास्कीको रूपा गाउँपालिका–५ निवासी उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

शृंगारिक र प्रेमरसले भरिएका उनका चर्चित गजल छन् । उनको कविताकृति ‘अक्षरभरि अक्षता’, गीत संग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ र गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशित छन् । बुधबार पोखरामा उनको अन्त्येष्टि गरिने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर