• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

लगानी सम्मेलनः ४ सय ६२ लगानीकर्ताको आयो प्रतिवद्धता

काठमाडौं । वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरका साढे चार सय भन्दा बढी लगानीकर्ताले प्रतिबद्धता पठाएका छन् । लगानी बोर्डको कार्यालयका अनुसार बुधबारसम्म ३६ देशका ४ सय ६२ जनाले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन् ।

बोर्डको कार्यालयले लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरका ‘हाइप्रोफाइल’ व्यवसायीसहित १३५५ जनालाई निम्तो पठाएको थियो । जसमध्येबाट ४६२ जना (नेपाली व्यवसायीसहित) ले सहभागिताको प्रतिबद्धता पठाएका हुन् ।

बोर्डका अनुसार चीनबाट सबैभन्दा धेरै ६४ जना र भारतबाट ५७ जनाले प्रतिबद्धता जनाएका छन् । यसपछि जर्मनीबाट १२ जना लगानीकर्ताले सहभागिता जनाउने भएका छन् ।

यस्तै बेलायतबाट ११, अमेरिका र बंगलादेशबाट समान १०–१० जना लगानीकर्ता सहभागी हुनेछन् । संयुक्त अरब इमिरेट्स र जापानबाट समान ८–८ जनाले सहभागिता जनाउने प्रतिबद्धता पठाइसकेका छन् भने दक्षिण कोरियाबाट ७ जनाले र पाकिस्तान तथा अष्ट्रेलियाबाट समान ६–६ जनाले सहभागिता जनाउनेगरी बोर्डमा मेल पठाइसकेका छन् ।

यस्तै सिंगापुरबाट ४, मलेसियाबाट ४ तथा रुस, फिनल्याण्ड, कोलम्बिया र क्यानडाबाट समान ३–३ जना लगानीकर्ताले अहिलेसम्म सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, कतार, युरोपियन युनियन, बेल्जियम, बहरायन, अष्ट्रियाबाट समान २–२ जनाले सम्मेलनमा नेपाल आउने ‘कन्फर्मेसन’ पठाएका छन् ।

भियतनाम, वानुआतु, टर्किए, थाइल्याण्ड, स्वीजरल्याण्ड, श्रीलंका, साउदीअरब, रोमानिया, मोरोक्को, मौरिसस, मौरिसिनिया र साइप्रसबाट १–१ जनाले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेका छन् । यसबाहेक अन्यत्रबाट ६० जना प्रतिनिधि नेपाल आउने छन् ।

लगानी बोर्डले लगानी सम्मेलनमा विश्वभरका धनाड्य उद्योगपति व्यापारी र लगानीकर्तालाई निम्तो पठाएको थियो । एलन मस्क, जेफ बेजोस, मुकेस अम्बानी, गौतम अडानी, मार्क जुकरवर्ग लगायतलाई समेत निम्तो पठाएको थियो । यस्तै ज्याक मालाई समेत निम्तो पठाएकोमा धेरैजसोले सहभागिता जनाउनेरनजनाउनेबारे जानकारी दिइसकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर