• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सरकारले घटायो सार्वजनिक ऋण, साढे २ अर्ब घटायो

काठमाडौं । गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकामा गत चैतसम्म आइपुग्दा घटेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको हो ।

यस अवधिमा सरकारले धेरै आन्तरिक ऋणको भुक्तानी गरेकाले कुल तिर्न बाँकी सार्वजनिक ऋण २ अर्ब ४७ करोड रुपैयाँले घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत चैतमा मात्र कार्यालयले करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ, जसमध्ये २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज रहेको छ । पछिल्ला महिनामा सरकारले बाह्यभन्दा धेरै आन्तरिक ऋणको साँवाब्याज भुक्तानी गरिरहेको छ । यसकारण आन्तरिक ऋण केही घटेपछि कुल तिर्न बाँकी सार्वजनिक ऋणमा कमी आएको हो ।

गत चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य रहेको छ । गत फागुन मसान्तसम्म ११ खर्ब ८५ अर्ब ५२ करोड आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी बाह्य ऋण रहेको थियो । गएको एक महिनामा सरकारले केही बाह्य ऋणको पनि साँवाब्याज भुक्तानी गरेको छ । तर, आन्तरिक ऋणको भुक्तानी बाह्यको भन्दा धेरै भएको सरकारी तथ्यांक छ ।

यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज गरी कुल १ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको छ । सोही अवधिमा बाह्य ऋणको साँवाब्याज गरी कुल ३३ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । जसअनुसार २६ अर्ब ८७ करोड रुपैयाँ साँवा र ६ अर्ब ८७ करोड रुपैयाँ ब्याज रहेको छ ।

गएको आठ महिनामा सरकारले कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ सरकारी ऋण उठाएको छ । जसमध्ये १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक र करिब ६२ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले देखाएको छ । गत चैतसम्मको तथ्यांक हेर्दा तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिकभन्दा बाह्य धेरै देखिन्छ ।

अघिल्ला महिनामा तिर्न बाँकी ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण धेरै रहँदै आएको थियो । तर गत माघ महिनायता फेरि आन्तरिक ऋणभन्दा बाह्य बढी रहँदै आएको छ । यसले पनि अहिले सरकारले बाह्यको तुलनामा आन्तरिक ऋण धेरै भुक्तानी गरेकाले तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको देखिएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड ९२० प्रतिशत० चालु खर्च, ३ खर्ब २ अर्ब ७ करोड ९१७.२५ प्रतिशत० पुँजीगत र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत) छुट्याइएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर