• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

कांग्रेसले थाप्यो ढोक्साः सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई मत दिने  !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुरुरपश्चिममा नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई मत दिने संकेत गरेको छ । 

सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धन भित्रै खटपट भइरहेका बेला कांग्रेसले गठबन्धन फुटाउन ढोक्सा थापेको छ । 

नेकपा एमालेले भने नेकपा एसले अघि सारेका उम्मेदवारलाई मत नदिने अडान अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने गठबन्धनभन्दा बाहिरबाट मुख्यमन्त्री बनाउन नहुने अडानमा मिलाउने कसरत गरिरहेका छन् ।

यसअघि नेकपा एस र कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा मुख्यमन्त्री पाउने गरी नेकपा एसले समर्थन फिर्ता लिएपनि कांग्रेसले फेरि नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी प्रस्ताव गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बेलुका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सुदूरपश्चिमबाट नयाँ सहकार्यको सुरुवात गर्न प्रस्ताव गरेका थिए । देउवा र नेपालबीच गल्फुटारस्थित कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवासमा बुधबार साँझ ६ बजेदेखि करिब एक घण्टा संवाद भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनदेखि कोशी र अन्य प्रदेश तथा केन्द्रीय राजनीतिका विषयमा समेत छलफल भएको थियो ।

नेपालसँग छलफलपछि सभापति देउवाले बिहीबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अहिले बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग समेत परामर्श गरे । सभापति देउवाले प्रदेश सरकारहरुका विषयमा कानूनविद्सँग समेत छलफल गरेका छन् ।
उता अध्यक्ष नेपालले भने बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेको समाजवादीका एक उच्च तहका नेताले जानकारी दिए ।

नेकपा एसले प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीकारुपमा अघि बढाउने निर्णय गरिसकेको छ । 

यसअघि पनि गठबन्धनले मुख्यमन्त्री नदिएपछि नेकपा एसले कांग्रेससँग मिलेर सरकार बनाउन तयार भएको थियो । त्यसो त सुदूरपश्चिममा नेकपा एस गठबन्धनबाट बाहिरिए वर्तमान सत्ता गठबन्धनमा संकट पैदा हुने निश्चित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर