• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिएको स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम रास्वपा उम्मेदवार मिलन लिम्बूलाई भोट माग्न इलाम आएका हुन् ।
स्वर्णिमलाई देखेपछि उनको वरिपरि मतदाता झुम्मिन्थे । त्यसमध्ये युवा मतदाता धेरै थिए । 

त्यसमध्ये धेरै सोधिने केही प्रश्न थिए, ‘उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरण के हो ? उहाँको पद के हुन्छ ?’ सबैलाई वाग्लेको समान जवाफ हुन्थ्यो, ‘सभापतिमाथि लान्छना लगाइयो ।’ तर, मतदाता त्यतिमै सन्तुष्ट हुने कुरै थिएन । उनीहरू फेरि प्रतिप्रश्न गर्थे । 

जीबी राईका कारण सभापति लामिछानेमाथि आरोप लगाइएको वाग्लेको जवाफ हुन्थ्यो । युवा मतदातालाई आश्वस्त पार्न उनी भन्थे, ‘सहकारी प्रकरण कांग्रेस सरकारमा हुँदै आएको हो । सभापतिजीले पनि म दोषी ठहरिए हत्कडी लगाएर लैजानू भन्नुभएको छ । उहाँको व्यावसायिक पार्टनर जीबी राई विश्वकै फटाहा मान्छे रहेछन् ।

फटाहाका कारण उहाँलाई आरोप लागेको छ ।’ ठाउँठाउँमा बारम्बार एउटै प्रश्न दोहोरिएपछि उनी तर्किन पनि खोज्थे । प्रतिप्रश्न छल्न खोज्थे । प्रसंग बदल्थे । तर, अर्को ठाउँमा पुग्यो फेरि उही प्रश्न दोहोरिन्थ्यो ।

इलाम बजारका मतदाता अस्थिर मानिन्छन् । कांग्रेसको पकड क्षेत्र मानिने इलाम बजारका मतदाताले बेलाबेलामा मत परिवर्तन गरिरहने दलहरूको विश्लेषण छ । सभापति लामिछाने शनिवार साँझ पार्टी कार्यालय छेउकै होटेलमा बसेका थिए । तर, आइतबार बिहानै उनी इलाम बजारका मतदातालाई छलेर अन्त लागे । अन्यत्र कार्यक्रम रहेको भन्दै लामिछाने त्यहाँबाट हिँडेका थिए ।

बजार क्षेत्रमा सहकारीको मुद्दा उठ्ने डरले उपसभापति वाग्लेलाई जिम्मा लगाए सभापति लामिछाने अन्त हिँडेको कतिपयको विश्लेषण सुनिन्थ्यो । लामिछाने सहकारी प्रकरणका प्रश्नबाट तर्किन खोजिरहेको मतदाताले सुनाउँदै थिए । इलाम बजारबाट तर्किएर अन्त हिँडेका लामिछाने इलाम–२ मा आफ्नो पार्टीका उम्मेदवार लिम्बूलाई जिताउन कम्मर कसेर लागेका छन् । 

तर, मतदाता भने सहकारी प्रकरणका अनुत्तरित प्रश्नले सन्तुष्ट देखिँदैनन् । जसलाई रास्वपाकै जिल्ला तहका नेताहरू पनि स्वीकार गर्छन् । आउँदो (२०८४) निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरिरहेका सभापति लामिछानेकै कारण उपचुनावमा धक्का लाग्ने देखिएको रास्वपा नेताहरूको भनाइ छ । रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि ुमाओवादीको मान्छेु भन्ने आरोपसमेत लाग्ने गरेकोले चुनाव जित्न कठिन हुने नेताहरूको विश्लेषण छ । इलाममा माओवादी ब्यागग्राउन्डका उम्मेदवारलाई जनताले खासै नरुचाएको उनीहरू बताउँछन् । ‘रमेश प्रसाईँलाई टिकट दिएको भए अरुलाई चुनौती हुनसक्थ्यो,’ रास्वपाका एक नेताले भने, ‘मिलनको माहौल त्यति राम्रो छैन ।’

रास्वपा इलामका अध्यक्ष मानबहादुर घिमिरे पनि चुनाव जित्न आफूहरूले धेरै मेहनत गर्नुपर्ने बताउँछन् । ‘तनहुँको उपनिर्वाचनजस्तो माहौल बनेको छैन,’ उनले भने, ‘गत निर्वाचनभन्दा हाम्रो अवस्था राम्रो छ । तर, चुनाव जित्न हामीले ठूलो मेहनत गर्नु पर्ने देखिएको छ । मेहनत गरिरहेका छौं ।’

रास्वपाका धेरै केन्द्रीय नेताहरू इलाममै डेरा जमाएर बसेका छन् । सभापति लामिछाने, उपसभापति वाग्ले, महामन्त्री मुकुल ढकाल, शिक्षा मन्त्री सुमना श्रेष्ठ, महामन्त्री मुकुल ढकाललगायत केन्द्रीय नेताहरू इलाम–२ मै केन्द्रित छन् । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी चुनावको मिति घोषणा भएदेखि नै यहाँ खटिएका छन् । सह प्रवक्ता रमेश प्रसाईँ मिलनको चुनावी अभियानमा निरन्तर हिँडेका छन् ।

यस्तै, पहिचानवादी समूहले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । यसबाहेक नेकपा एकीकृत समाजवादी, राप्रपालगायत दलका र स्वतन्त्रगरी इलाम–२ मा १९ जना उम्मेदवार छन् । माओवादीले भने एमाले उम्मेदवारलाई सघाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर