बझाङमा एमालेका भण्डारीको झिनो मतको अग्रता

धनगढी । बझाङको प्रदेश सभा उपनिर्वाचनअन्तर्गत जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २० मतले अग्रता लिएका छन्। 

कुल सदर मत २७ हजार ३५७ मत गणना हुँदा एमाले उम्मेदवार भण्डारीले १० हजार ४११ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ३९१ मत ल्याएका छन्।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ। माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७१३ मत ल्याएका छन्।

चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४४९ मत प्राप्त गरेका छन्।

२०७९ को चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसले जितेको थियो।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । 

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए । २०४८ पछि यो क्षेत्रमा कांग्रेसका उम्मेदवारले तीनपल्ट र एमालेका उम्मेदवारले चार पटक जितेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर