• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

को हुन् सुहाङ नेम्वाङ ? (जिवनी)

विराटनगर । बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी भएका छन् । 

ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरीबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया गएका सुहाङ कानुन विषय अध्ययनका लागि पुनः नेपाल फर्किएका थिए । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गरे । 

बीएएलएलबीको पढाइ सकेलगत्तै एलएलएम अध्ययन पूरा गरे पनि समय अभावले थेसिस बाँकी छ । 

आफूलाई जति आवश्यक छ त्यतिमात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाव भने निकै राम्रो  छ । स्कूले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङले अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी भइरहने सुहाङले बुवा सुवासको सल्लाह अनुसार मेची डि स्पोर्टिङ क्लब खोलेको बताउछन् । खेलकुद बुवाको पनि सपना थियो, सुहाङलाई खेलक्षेत्रको विकासमा म लाग्नुपर्छ भन्ने कुराले सधैं प्रेरित गरेको छ  ।  

बुवाले कहिले पनि आफूलाई पार्टीको काममा नलगाउने र आफ्नो दबाबमा सरकारी जागिर नखुवाउने आफैं सक्षम बन्नुपर्छ भन्ने गरेकाले आफूले कहिले पनि बुवाको शक्तिमा आफू नलागेको सुहाङ बताउछन् । आफ्नो अहिलेसम्मको जीवनमा बुबासँग बसेर नौ पटकमात्र दशैं–तिहार जस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुवाले सबै जीवन देशको परिवर्तन र पार्टीका लागि नै दिनुभएको स्मरण गरे । 

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेद्वारले उठाएका सबै मुद्दाहरु इलामको नागरिकका साझा मुद्दा भएको बताए । ‘एकपटक सबै उम्मेद्वारसँग बसेर छलफल गर्ने मन छ । उहाँहरुले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नुछ ।’ सुहाङले भने ‘काम नभएको होइन भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, कहाँ पुगेर यहाँका अधुरा योजनाहरु पूरा गर्न सकिन्छ ती कामहरु मैले गर्नुपर्छ ।’ 

इलाम– २ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरणको अर्को समस्या देखिएको उनको बुझाइ छ ।  शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने छ । यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्या पाइएको छ, भोट दिने आशीर्वाद दिइरहँदा यहाँका बुबा–आमा, दाजुभाइ, दिदी बहिनीहरुले झारेको आँसुको ऋण तिर्न अब इलामबाट टाढा जान नसक्ने उनी बताउछन् ।

 ‘माथिको नीति निर्माणमा मैले खेल्ने भूमिका, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा काठमाडौंमा रहे पनि बाँकी समय इलाम र यहाँका नागरिकसँगै हुनेछु ।’ सुहाङले भने ‘हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई एक परिवार र इलामलाई एक परिवारका रुपमा एउटै मालामा बाँध्नुहुन्थ्यो । अहिले मलाई त्यस्तै भएको छ इलाम मेरो आफ्नो परिवार हो भन्ने महसुस भएको छ, इलामका लागि मैले केही गर्नुपर्छ ।’

‘नेकपा एमाले पार्टीलाई विश्वास गर्नुभयो, मेरो बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशीर्वाद दिनुभयो यो निर्वाचनमा सहभागी हुने इलाम– २ निवासी सम्पूर्णलाई यहींबाट धन्यवाद  दिन चाहन्छु । निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पङ्क्तिलाई नमन गर्दछु । हरेक पल–पलमा नागरिकमा सूचना पुर्‍याउन  खटिनुहुने प्रिय सञ्चारकर्मी र सम्पूर्ण सञ्चार संस्थाहरुलाई पनि धन्यवाद दिन चाहन्छु, उनले भने।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर