• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

सरकारलाई दिएको समर्थन फिर्ता लिए एकीकृत समाजवादी पनि फुट्ने चेतावनी

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला उनले नेतृत्व गरेको पार्टी जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि त्यसको तरंग अन्यत्र पनि पर्न थालेको छ । 

हिजो आइतबार मात्रै जसपा विभाजित भएर अशोक राइको नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो । सत्ता गठबन्धनमा रहने कि बाहिरिने ? भन्ने बहसको सेरोफेरोमा जसपा विभाजित भएको कतिपयले तर्क गरिरहेका बेला उस्तै अवस्थाबाट गुज्रिरहेको एकीकृत समाजवादीमा पनि तरंग गएको हो । 

नेता माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (एस)मा सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने तिब्र बहस छ ।

सरकार भन्दा बाहिर रहेका नेताहरु राजेन्द्र पाण्डे र मेटमणी चौधरीसहितका केही नेता तुरुन्तै सरकारबाट बाहिरिनुपर्ने अडानमा छन् ।

माधवकुमार नेपाललाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीको आश्वासन दिएको बताईएको छ । प्रधानमन्त्रीको आशामा उनी पनि वर्तमान सत्ता गठबन्धन विरुद्ध विभिन्न कोठे बैठकहरुमा व्यवस्त  छन् । 

तर उता पार्टी भित्रको बहुमत पंक्ति भने यही गठबन्धन र सरकारमा रहेर चुनावसम्म जानुपर्ने पक्षमा छ । कांग्रेसले अध्यक्ष नेपाललाई प्रधानमन्त्री पनि नदिने र नयाँ समिकरण बनाएर चुनावमा जान पनि नहुने पक्षमा सर्वोच्च नेता झलनाथ खनाल लगायतको पंक्ति रहेको सोही पार्टीका एक शीर्ष नेताले बताए ।

खनालसहित महासचिव घनश्याम भुषाल, उपमहासचिव प्रकाश ज्वाला, अहिले सरकारमा रहेका मन्त्रीहरु, पूर्वमन्त्रीहरु रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठलगायतका नेताहरु यही सत्ता गठबन्धनको पक्षमा रहेकाे ती नेताले बताएका हुन् ।

यस्तो अवस्थाका बाबजुत नेता नेपालले सरकारबाट बाहिरिने निर्णय गरेमा पार्टी विभाजनको शिकार बन्न सक्ने उनले चेतावनी दिए । 

आफुहरुले यो कुरा पार्टी बैठकमा तथा नेताहरुले भेटेरै पनि जानकारी गराईसकेको उनले बताए । 

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ ।

एकीकृत समाजवादीका बहुमत सांसद र केन्द्रीय सदस्यकहरु वामपन्थीहरुको बाहुल्य रहेको वर्तमान सत्ता गठबन्धन फेर्न नहुने पक्षमा रहेको उनले बताए ।

इलाममा भएको उपनिर्वाचनमा वरिष्ठ नेता झलनाथ खनालले नै नेतृत्व गर्दा पनि आफ्नो पार्टीका उम्मेद्वारको जमानत जफत भएपनि एकीकृत समाजवादी वाम दलहरु मिलेर जानुपर्ने मुडमा पुगेको कतिपय नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर