• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

सरकार परिवर्तन गर्न षड्यन्त्र भइरहेका छन्: महासचिव पोखरेल

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए । 

मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे ।

‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’

 ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ ।

यो सकारात्मक पहल हो,’ उनले भने, ‘लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत डङ्गबाटै अघि बढ्नुपर्छ । त्यस कारण अहिले जे भयो, त्यो कानूनीरुपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’

उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको बताए ।

‘जब राजनीतिक दलहरू धेरै हुन्छन्, कमजोर हुन्छन्, त्यसबेला बाह्य शक्तिहरूको हस्तक्षेप बढ्ने रहेछ,’ उनले भने, ‘त्यस कारण हामी नेकपा एमालेलाई यो देशको ठुलो शक्ति, बलियो शक्ति बनाएर देशलाई निकास र विकास दिन चाहन्छौँ । त्यसैकालागि पार्टीले मिसन ०८४ लाई एउटा अभियानकोरुपमा अघि बढाएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर