• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

गाउँलाई कृषी र मनोरञ्जनको क्षेत्र बनाऔँ

किशोर थापा

नेपाल सहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (निअर्स) देशमा भइरहेको सहरीकरण र यसले निम्त्याएका अवसर तथा चुनौतीका बारेमा सर्वसाधारणलाई सुसूचित गर्ने कार्यमा विगत ९ वर्षदेखि सक्रिय छ । सहरी योजनाकार तथा क्षेत्रीय विकास विज्ञ, प्राज्ञ, उद्यमी तथा अभियन्ताद्वार स्थापित यो प्रतिष्ठानले कुनै पनि सवालमा गहन अध्ययन, अनुसन्धान र विश्लेषण गरी आफ्ना धारणा तय गर्दछ । र, विभिन्न तहका सरकार, निजी क्षेत्र र समाजलाई उपयोगी ज्ञान बाँड्छ ।

नेपाल रियल इस्टेट सम्मेलन २०२४ को मूल विषयवस्तु विश्व परिदृश्यमा रियल इस्टेट क्षेत्र र नेपालले लिनुपर्ने कार्यदिशा रहेको छ । बढ्दो सहरीकरण र बसाइँसराइ, जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण सहरी क्षेत्रमा आवास तथा भवनहरूको माग बढिरहेको छ भने ग्रामीण क्षेत्रमा जनसंख्या घट्ने र आवासीय घर, विद्यालय, सरकारी भवन खाली भइरहेको अवस्था छ । विकसित देशमा सहरीकरणको गति सुस्त छ र जनसंख्या वृद्धि पनि कम भइरहेको अवस्था छ भने विकासशील देशहरू र विशेष गरी अफ्रिका र एशियामा तीव्र सहरीकरणका साथै जनसंख्या वृद्धि पनि भइरहेको छ ।

नेपालमा पनि तीव्र गतिमा सहरीकरण हुनाका साथै पहाडबाट मैदान, उपत्यका र तराई मधेशमा बसाइँसराइ भइरहेको छ । यसबाट नयाँ सहरमा थपिने जनसंख्याका लागि आवास, स्कुल, अस्पताल, कार्यालय, उद्योग तथा व्यवसाय, मनोरञ्जन केन्द्र आदिका लागि भवनहरूको माग बढिरहेको छ । सरकारको सीमित साधन र स्रोतबाट मात्र यस्ता भवनहरूको निर्माण र व्यवस्थापन हुन कठिन भएकाले निजी क्षेत्रले यसमा ठूलो भूमिका खेल्न सक्छ भने उपलब्ध भवनहरूको व्यवस्थापन, किनबेच जस्ता कार्य पनि व्यवस्थित र पारदर्शी तरीकाबाट गर्न गराउनुपर्ने आवश्यकता छ ।

नेपालमा जग्गाको किनबेच गर्ने काम औपचारिक वा अनौपचारिक रूपमा हुन थालेको धेरै दशक भइसकेको छ । कुनै व्यक्तिको मध्यस्थतामा विक्रेता र खरीदकर्ताले गोप्य रकमको लेनदेन गरेपश्चात् मालपोत कार्यालयमा गई रजिष्ट्रेशन पास गर्ने अहिलेको चलन छ । मध्यस्थकर्ताको पहिचान, जिम्मेवारी र उत्तरदायित्व वैधानिक नहुँदा बेलाबेलामा ठगी र जालसाजीका घटना घट्ने गरेका छन् भने घरजग्गा कारोबारको वास्तविक रकम पारदर्शी नहुँदा र यसमा मध्यस्थता गर्ने व्यक्तिको पारिश्रमिक वा कमिशनको अभिलेख नहुँदा सरकारले प्राप्त गर्न सक्ने राजस्व पनि गुमेको अवस्था छ ।

तसर्थ घरजग्गा व्यवसायलाई वैधानिक तथा मर्यादित व्यवसायका रूपमा स्थापित गर्न नीतिगत तथा कानुनी व्यवस्था गरी संस्थागत जिम्मेवारी पनि किटान गर्न आवश्यक भइसकेको छ । वैधानिक रूपमा घरजग्गा व्यवसायमा लागेका संस्था वा समूहको लगानी सुरक्षा गर्न र यो व्यवसायको संरक्षण र प्रवर्द्धन गर्नका लागि एउटा छुट्टै ऐन तथा निकायको आवश्यकता महसुस गरिएको छ । घरजग्गा व्यवसायले केवल नागरिकका लागि सूपथ आवास तथा अन्य प्रयोजनका भवनहरू मात्र उपलब्ध गराउने नभई, हजारौं मानिसहरूलाई निर्माणकार्यमा रोजगारी उपलब्ध गराउने र निर्माण सामग्री उत्पादन र सप्लाई गर्ने उद्योग र व्यवसायलाई समेत टेवा दिन्छ । यो क्षेत्रले नेपालको अर्थतन्त्रमा कत्तिको महत्व राख्छ भन्ने कुरा हाल देखिएको आर्थिक मन्दीको मूल कारण नै घरजग्गा कारोबारमा आएको ह्रास हो भन्ने अर्थशास्त्रीहरूको भनाइबाट पनि पुष्टि हुन्छ ।

रियल इस्टेट क्षेत्रमा नेपालमा धेरै अवसरहरू छन् । व्यक्ति आफैंले अनेकन् दुःख गरेर वर्षौं लगाएर घरबनाउने चलन अब अव्यवहारिक र अनुपयुक्त भइसकेको छ । आजको नयाँ पुस्तासँग त्यो समय र धैर्य छैन । आवास व्यवसायीले निर्माण गरेका तुरुन्त बस्न सकिने, व्यवस्थित र सुविधासम्पन्न आवासीय कोलोनी, अपार्टमेण्टमा युवापुस्ताको आकर्षण बढेको छ । अर्कोतर्फ छोराछोरी विदेशमा रहेका बाबुआमा र विदेशबाट सेवानिवृत्त भई नेपाल फर्केका पेसाकर्मीका लागि सुविधासम्पन्न आवासको माग पनि बढदो छ ।

गाँउमा खाली रहेको आकर्षक घरजग्गालाई खण्डहर बनाउनुको सट्टा सहरका धनाढय परिवारलाई छुट्टी मनाउने स्थानका रूपमा विकास गर्न सकेमा सहरका मानिस गाँउ जाने, त्यहाँको आनन्द लिने र गाँउको अर्थतन्त्रमा केही योगदान गर्ने अवस्था आउँछ र हाम्रा गाँउघर पुनर्जिवित हुनेछन् । यो कार्यका लागि संघीय सरकार र स्थानीय सरकारले उपयुक्त नीति नियम तर्जुमा गरी निजीक्षेत्रका व्यवसायीलाई यस कार्यमा संलग्न हुने वातावरण तयार गर्नु उपयुक्त हुन्छ । यसका साथै काठमाडौं र पोखरा लगायत ठूला सहरमा सीमित जग्गा तथा आवास विकासका परियोजनालाई तराई तथा भित्री मधेसका मझौला सहरमा पनि विस्तार गर्नु राम्रो हुन्छ किनकि अहिलेको सहरीकरण तराई मधेसमा केन्द्रित भइरहेको अवस्था छ ।

रियल इस्टेटबारे अन्तर्राष्टिय अनुभव तथा देशका आवाससम्बन्धी समस्या, चुनौती तथा अवसरबारे विज्ञहरुका प्रस्तुति, छलफल तथा निष्कर्षबाट यो क्षेत्रमा लागेका व्यवसायीहरूको ज्ञानको दायरा बढाउन र उपलब्ध अवसरलाई कसरी छिटो सदुपयोग गर्न सकिन्छ भन्ने बारेमा रियल इस्टेट सम्मेलन २०२४ मा ठोस जानकारी प्रदान गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर