स्वदेशी उत्पादनः रासायनिककाे सट्टा बायो दानेदार र तरल मल बजारमा

काठमाडाैं । किसानले विदेशी रसायनिक मलको अभाव झेलिरहेका बेला धनुषाधाम नगरपालिका–३ स्थित आरोह फर्टिलाईजर्स प्रालिले स्वदेशमै जैविक दानेदार र तरल मल बजारमा ल्याउने भएको छ ।
नेपालको प्रमुख खाद्यन्न बाली धान रोपाईँ चलिरहेकाले त्यसका लागि आवश्यक पर्ने मल समयमै किसानकोमा पु¥याउन सकियोस भन्ने हेतुले आफनो उद्योगको बायो मल भोलि आइतवारदेखि बजारमा लैजाने कार्यकारी अध्यक्ष शैलेन्द्र शमशेर राणाले बताए ।
रासायनिक मलको जथाभावी प्रयोगले जमिनको उर्बराशक्ति नष्ट हुने मात्र नभई मानव स्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने तथा मलमा हुँदैआएको परनिर्भरतालाई घटनाउन बायो मल उद्योग स्थापना गरिएको उनले जानकारी दिए ।
उद्योगले कच्चा पदार्थ सहज उपलब्धता गराएको खण्डमा तथा कृषकको मागलाई दृष्टिगत गरी आवश्यकताका आधारमा बार्षिकरुपमा तीस हजार टन सम्म बायो मल उत्पादन गर्न सकिने प्रालिका प्रवन्ध निर्देशक आङकामी लामा बताउँछन् ।
उत्पादित जैविक मलको प्रयोगले जमीनको उर्भराशक्ति पाँच बर्षमा पुरानै अवस्थामा पु¥याउने, कृषि उत्पादन बढाउने र उत्पादित बस्तु सम्पूर्ण हिसावले अर्गानिक हुने उनको दावी छ ।
यसको प्रयोगले माटोमा पोषण तत्व बढाउने र माटोका प्राकृतिक गुण जोगाउने प्रवन्ध निर्देशक लामा बताउछन् । कम्पनीले हाल ६ प्रकारका झोल मल, चार प्रकारका दानेदारसहित पाउडर मल तथा दुई प्रकारका जैविक किटनाशक औषधी उत्पादन गर्नेछ ।
कम्पनीका कार्यकारी निर्देशक सवार्थ शमशेर जबराले आधुनिक प्रविधिबाट नेपालको माटो र हावा पानी सुहाउँदो बायो अर्गानिक(जैविक) मल उत्पादनमा आफूहरु लागि परेको बताए ।
‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने अवधारणाअनुरुप वातावरण मैत्री र माटोका उर्बराशक्ति बढाउने मल बजारमा पठाउन लागेको उनको भनाई थियो ।
हिमाल, पहाड र तराई क्षेत्रका विभिन्न ठाँउमा माटोमा परीक्षणपछि उपयुक्त प्रमाणित पश्यात मल बजारमा लैजाने तयारी गरिएको कम्पनीको भनाई छ ।
जैविक मलका लागि आवश्यक मुख्य कच्चा पदार्थ गाईबस्तुको गोबर भएकाले उद्योगले स्थानीय संकलनका अतिरिक्त सिरहा, सर्लाही, महोत्तरी मात्र नभई काभ्रे, भक्तपुर, काठमाडौबाट समेत गोबर संकलन गर्दैआएको छ । जैविक मलका लागि गोबर बेचेर पशुपालक कृषक पनि लाभान्वित हुने गरेको उद्योगको भनाई छ ।
आरोहबाट उत्पादित बायो गेडा मल किलो रु ७० र झोल मल प्रतिलिटर रु ६५० बजार मूल्य तोकिएको छ । उक्त दानेदार मल एक कठठा जमीनका लागि एक बोरा चाहिन्छ भने एक लिटर तरल मलले पहाडमा ८ रोपनी र तराईमा १२ कठ्ठमा प्रयाप्त हुने कम्पनीले जनाएको छ ।
बायो मल खासगरी धान, मकै, गहुँ र तरकारीका अतिक्ति स्याउ, चीया, उखु, अलैची, केरा, कीवी, तजुर्वाका लागि फलदायी हुने कम्पनीको दावी छ । यसको प्रयोगबाट उत्पादित बस्तु अर्गानिक भएकाले लामो समयसम्म टिक्ने कम्पनीको दावी छ ।
बजारमा आउनु अघि नै मुस्ताङका स्याउ बगानदेखि इलामको चीया र अलैचीका लागि माग भइसकेको प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कीटनाशक औषधिको अन्धाधुन्ध प्रयोग र अत्याधिक रसायनिक मलको प्रयोगबाट उत्पादित बस्तु खानाले क्यान्सरलगायतका घातक रोग निम्त्याउने विश्वास गरिन्छ ।
त्यस्तो हानिकारक मलको प्रयोगलाई घटाउँदै प्रतिस्थापन गर्ने सबैभन्दा सजिलो उपाय जैविक मल भएको संस्थापक राणा बताउछन् ।
उद्योगका लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ नेपालमै उपलब्ध हुन्छ भने विशेष प्रकारको माटोसहितका केही कच्चा पदार्थ भारतबाट आयात गर्नु पर्ने बाध्यता छ । विभिन्न बायो उद्योगबाट खेरा गइरहेको पदार्थ समेत मलका कच्च पदार्थका लागि प्रयोग गर्न सकिने जानकारी दिइयो ।
कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्र कार्कीले जैविक मलको प्रयोगले माटो नविगार्ने मात्र नभई उर्बराशक्ति बढाउने बताए ।
उनले भने, “यो मलको प्रयोगले साधारण अवस्थाम १० प्रतिशतसम्म उत्पादन बृद्धि हुन्छ । जथाभावी रासायनिक मलको प्रयोगबाट उर्बराशक्ति गुमेको माटोलाई पहिलकै अवस्थामा पु¥याउँछ ।”
उद्योग विभागमा सञ्चालन अनुमति प्राप्त गरेको उक्त प्रालि वातावरण मैत्री भएको संस्थापकको दावी छ ।
प्रतिकृया दिनुहोस