• २०८१ असार २२ शनिबार
  • Saturday, 6 July, 2024

ओली–देउवाबीच भएको थियो ६०–४० को सहमति, पहिला को प्रधानमन्त्री ?

काठमाडौंं । कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको वार्ता सकारात्मक भएको ब्रिफिङ गरे । यता संसदको बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले यही वर्ष आफू प्रधानमन्त्री नहुने चर्चा गरे । 

यी दुई नेताका बीचमा दुई पार्टी मिलेर सरकार बनाउने, पालैपालो सरकारको नेतृत्व गर्ने, जो प्रधानमन्त्री बन्छ उसले सत्ताको ४० प्रतिशत हिस्सा लिने, अर्कोले ६० प्रतिशत लिने समझदारी बनेको कांग्रेसका एक केन्द्रीय नेताले बताए । 

बैठकपछि पत्रकारहरूसँग कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले देउवा र ओलीबिच सकारात्मक कुराकानी भएको बताए । ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ देउवाका भनाइ उद्धृत विश्वकर्माले भने । 

विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए।  ‘अहिले ओलीजीसँग सुमधुर र सकारात्मक छ,’ देउवाको भनाइ थियो। बैठकमा भ्रातृ संस्था र समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको उनको भनाइ छ ।

ओली प्रधानमन्त्री हुँदा कांग्रेसले गृहसहित ९ मन्त्रालय पाउने र एमालेले प्रधानमन्त्रीका अलावा ८ मन्त्रालय पाउने गरी छलफल चलिरहेको छ। प्रदेशहरूमा दुवै दलले ३–३ वटा मुख्यमन्त्री लिने गरी शक्ति साझेदारीको विषय छलफलमा छ।

प्रधानमन्त्री पहिला को बन्ने भन्ने विषयमा दुई नेताबीच अझै कुरा नमिलेको र एक अर्काबीच प्रयोग गर्न खोजेको हो कि भन्ने आशंका दुवै नेतालाई रहेको स्रोतको दावी छ । 

देउवाले आफू निकटस्थहरुसँग ओलीले प्रचण्डमाथि दबाब दिन आफूलाई प्रयोग गरेको हो कि भन्ने आशंकासमेत व्यक्त गरेका थिए । 

ती नेताका अनुसार, कांग्रेस र एमाले मिलेर संसदको बाँकी कार्यकालमा केही दीर्घकालीन महत्त्वका निर्णय लिने गरी समझदारी विकास भएको छ। त्यसका लागि एउटा बलियो सरकार आवश्यक भएकाले नेतृत्वमा आधा–आधा कार्यकाल गर्न दुवै पक्ष सकारात्मक छन्। 

गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार नेपाली कांग्रेसको साथ छाडेर प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय लिएका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर