प्रचण्डले एमालेका मन्त्रीकाे राजीनामा बुझ्दै भनेः यस्तो पनि हुँदो रैछ …
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सामुहिक राजीनामा बुझाएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।
उनले एमालेका मन्त्रीहरुको एक–एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् ।
एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए– यस्तो पनि हुँदो रैछ जीन्दगीमा कैले–कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’ प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएको एक मन्त्रीले जानकारी दिए ।
यस्तो पनि हुँदो रहेछ
जिन्दगीमा कहिले–कहिले
कसैलाई माया गर्नु
एउटा भूल गरें मैले...
एमालेका ८ जना मन्त्रीले बुधबार बेलुकी ८ः३० बजे सामूहिक राजीनामा बुझाइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल फत्तेमान राजभण्डारीले स्वर दिएको र यादव खरेलले रचना गरेको यो गीत गाएर निःशब्द भए ।
थप कुनै धारणा राखेनन् । अरू केही नबोली एमालेका मन्त्रीहरूसँग सामूहिक तस्बिर खिचाए, अनि बिदा भए ।
प्रतिकृया दिनुहोस