• २०८१ असार २२ शनिबार
  • Saturday, 6 July, 2024

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि मतदान आज

३३ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य
काठमाडौं । एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया बिहीबार सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार छन् । सहमतिको प्रयास पनि जारी रहेको नेताहरूले दाबी गरेका छन् । पदाधिकारीमा सहमति र केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन हुने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । पदाधिकारीमा सहमति नभए प्यानल प्रतिस्पर्धाको तयारी रहेको एक नेताले जानकारी दिए । ‘सहमतिको प्रयास जारी छ । सहमति हुन सकेन भने माथिदेखि तलसम्मै प्यानल बन्ने सम्भावना छ,’ ती नेताले भने ।

प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । 

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर