• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

राजनीतिमा नयाँ सम्भावनाः प्रचण्डसँगको छलफल पछि रास्वपाका मन्त्रीहरुले राजीनामा दिएनन्

काठमाडौं । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिइकन फर्किएका छन् ।  प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो। अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो’, उनले प्रधानमन्त्रीको भनाइ सुनाउँदै भने, ‘हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ। उहाँले विश्वासको मत चाँडै लिनुपर्‍यो। हामी त्यतिबेलासम्म उहाँलाई साथ दिन्छौँ।’

यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्। 

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो। 

एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।

नयाँ गठबन्धनका केही नेताहरूले रविलाई बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिन अनुरोध गरिए पनि उनले दिन मानेनन् ।  

रविसँगै राजीनामाका लागि पार्टीका उपसभापति एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामा बोकेर बालुवाटार पुगेका थिए ।

यसअघि असार १८मा उनको मुद्दा माथि सर्वोच्चमा अन्तिम सुनुवाइको मिति तोकिएको थियो । रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि सुनुवाइ जारी थियो । तर १८ गते उक्त मुद्दाको सुनुवाइ सरेपछि सोही नाममा रबि माथि राजीनामाका लागि दबाब परेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर