कोपा अमेरिकाः सेमिफाइनलमा अर्जेन्टिनालाई सहज प्रतिद्धन्दी !

काठमाडौं । अघिल्लो सिजनको युरोकपको विजेता इटालीलाई समेत हराएपछि अर्जेन्टिना विश्वकप बिजेता बनेको थियो । त्यस अघि कोपा अमेरिका जितेर विश्व नम्बर एक फुटबलर लियोन मेसीले सम्हालेको अर्जेन्टिनाले लामो समयदेखिको उपाधिको खडेरी टारेको थियो ।
कोपा अमेरिकाको अहिलेसम्मको अवस्था र प्रतिस्पर्धी हेर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि डिफेण्ड गर्ने देखिएको छ । तर फुटबलमा यस्ता हिसावकिताव गौण हुन्छन् । मैदानमा जसले राम्रो खेल्न सक्यो यसैले गोल हान्छ र उपाधिमाथि कब्जा जमाउँछ ।
अमिरिकामा जारी अमेरिकी देशहरूकाे ‘कोपा–अमेरिका’को ४८औँ संस्करणमा बुधबार बिहान पहिलो सेमिफाइनल खेल खेलिँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ५ः४५ बजे सुरु हुनेछ ।
समूहगत चरणमा अर्जेन्टिनाले क्यानडासहित आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो । आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो ।
अर्कोतिर, क्यानडाले समूहगत चरणमा आफूले खेलेको तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । क्यानडा आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो ।
क्यानडाले आफ्नो दोस्रो खेलमा भने पेरुमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
प्रतियोगिताको क्वार्टरफाइनलमा भने अर्जेन्टिना र क्यानडा दुवैले आ–आफ्नो खेल जित्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो । क्वार्टरफाइनल चरणमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
क्याडनाले भने क्वार्टरफाइनल खेलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजयको स्वाद चखाएको थियो ।
पछिल्लो फिफा वरीयतामा अर्जेन्टिना पहिलो स्थानमा आसीन छ भने क्यानडा ४८औँ स्थानमा छ ।
प्रतिकृया दिनुहोस