• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

प्रचण्डले घुमाउरो भाषामा भनेः राष्ट्रपति ७६ (३) मा जानुहुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७३ को उपधारा ३ को व्यवस्था अनुसार आव्हान गर्ने विश्वास व्यक्त गरेका छन् । 

माओवादी केन्द्रको संसदीय दलको सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरुलाई ब्रिफिङ गरेका थिए । आफु नेतृत्वको सरकार विरुद्ध 'एमाले कसरी लाग्यो र केपी ओलीले कसरी धोका दिए' भनेर उनले विस्तृतमा सुनाए । 

संविधानको धारा ७६ (२) काे दुई वा दुई भन्दा धेरै दल मिलेर सरकार बनाउने प्रावधान अनुसार अहिले आफ्नो सरकार बनेको र यो सरकारले संसदमा विश्वासको मत नपाएको खण्डमा संविधानले प्रष्ट भाषामा ७६(३)मा जाने व्यवस्था गरेको उनले बताए । 

यस क्रममा अध्यक्ष प्रचण्डले विभिन्न पृष्ठभूमिका वरिष्ठ अधिवक्ता,संविधानविद्हरुसँग पनि परामर्श गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगकाे भेटमा पाैडेलले पनि संविधानमा भएको व्यवस्था अनुसार नै नयाँ सरकार गठनका लागि आव्हान गर्ने बताएको स्मरण गरे । त्यो व्यवस्था भन्नाले धारा ७६ को ३ नै रहेको आफूले बुझेको उनले बैठकमा सुनाएको एक सांसदले समाचार दैनिकलाई जानकारी दिए । 

सरकार छोड्दै गर्दा पनि माओवादीलाई कुनै चिन्ता नभएको तर सरकार बनाउन लागेको नेकपा एमालेलाई अहिलेदेखि नै तनाव सुरु भएको उनले टिप्पणी सुनाए । 

संविधानको धारा ७६ (३) मा दुई वा दुई भन्दा धेरै दल मिलेर बनेको सरकारले विश्वासको मत नपाएको खण्डमा ठूलो दलको नेतालाई सरकार गठन गर्नका लागि आव्हान गर्ने व्यवस्था छ ।

त्यसो भएमा राष्ट्रपति रामचन्द्र पौडेललेको आव्हान अनुुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व पाउने सक्ने माओवादीका ती सांसदले बताए ।  

दलकाे बैठकले प्रधानमन्त्री प्रचण्डकाे पक्षमा विश्वासकाे मत दिने निर्णय गर्दै ह्वीप जारी गर्ने तयारी गरेकाे थियाे ।

एमाले र कांग्रेसबीच सरकार गठन गर्नका लागि उद्योगी तथा सांसद विनोद चौधरीको घरमा तयारी भएको र उद्यमी रामेश्वर थापाको घरमा सम्झौता भएको पनि उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर