नेपाल भित्रिएको आईबीएमको विद्यालय कार्यक्रममा के छ ?
काठमाडौं । विश्वव्यापी रूपमा प्रविधिमा नेतृत्व गरिरहेको आईबीएम कम्पनीले तयार पारेको विद्यालय कार्यक्रम नेपालमा पनि भित्रिएको छ ।
भारतको शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन ई–लर्निङले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि तयार गरिएको आईबीएमको कार्यक्रम नेपालमा ल्याएको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै एसियन ई–लर्निङका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (मेसिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नविनतम सूचना प्रविधिका क्षेत्र समेटेर ४० देखि ६० घण्टाकासात वटा कोर्स समावेश रहेको बताए ।
प्रबन्ध निर्देशक त्रिपाठी भन्छन्, ‘अहिले सूचना प्रविधिको व्यापक विकाससँगै देखापरेका चुनौती सामना गर्न हाम्रा बालबालिकालाई आईबीएमको यो कार्यक्रम आवश्यक छ ।’
आईटीको नविनतम प्रविधिको ज्ञान, दक्षता हासिल गर्न र भविष्यमा आईटी क्षेत्रमा नै लाग्न चाहनेको लागि समेत आईबीएमको यो कोर्स लिनु आवश्यक रहेको उनको जिकिर छ ।
यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्स राखिएको छ । पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभरर र तेस्रो इनोभेटर । ‘प्रविधिलाई माया गर्नुस्’ नारा सहितको एक्सप्लोरर कार्यक्रमले प्रविधिलाई माया गर्न सिकाउनेछ । त्यसका लागि विश्वस्तरको सिकाइ सामग्री, आईबीएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, उद्योगहरूबाट पाहुना लेक्चररको पनि व्यवस्था हुनेछ ।
डिस्कभररले विद्यार्थीहरूलाई प्रोगामिङमा अब्बल बनाउने उनीहरूको दाबी छ । यसभित्र विश्वस्तरको सिकाइ सामग्री, आईबीएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, उद्योगहरूबाट पाहुना लेक्चररसहित भर्चुअल ल्याबका साथै सामूहिक गतिविधि लगायतका क्रियाकलाप गराइने बताइएको छ ।
‘तपाई उद्यमीजसरी सोच्नुहोस’ नारा रहेको इनोभेटर कार्यक्रमको लक्ष्य विद्यार्थी १२ कक्षामा पुगिसक्दा बजारमा नयाँ र सिर्जनशील उद्यमीका रुपमा स्थापित हुन मद्दत गर्नेछ । यी तीन वटै कार्यक्रममा सामान्यदेखि एडभान्ससम्मका कोर्स छन् । त्यसभित्र हप्तामा एक दिन, एकदेखि डेढ घन्टा पढाउनेगरी ४० देखि ६० घन्टासम्मको कोर्स छ ।
अहिले विश्वभर एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स ९मेसिन लर्निङ०, साइबर सुरक्षा र ब्लकचेन सबैभन्दा ठूला चुनौती र सम्भावना बोकेका क्षेत्रका रुपमा रहेको प्रबन्ध निर्देशक त्रिपाठीको भनाइ छ ।
आईबिएम इनोभेसन सेन्टर फर एडुकेशनका व्यापार प्रवद्र्धन प्रमुख हरि रामासुब्रमन्यम यो कार्यक्रम पाठ्यक्रममा आधारित नभइ उद्योगमा आधारित भएर तयार गरिएको बताए ।
उनी भन्छन् ‘पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा देखिएका नयाँनयाँ प्रवृत्ति र निकट भविष्यमा यसले लिनसक्ने दिशा, त्यसले सिर्जना गर्ने जनशक्तिको आवश्यकतालाई हेरेर तयार गरिएको हो ।’
प्रबन्ध निर्देशक त्रिपाठीका अनुसार यो कोर्स स्कुलमा कुनै थप लगानी बिना उपलब्ध पूर्वाधार एवम् जनशक्तिका आधारमा सञ्चालन गर्न सकिनेछ ।
७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा सञ्चालन गरिने गरी कोर्स डिजाइन गरिएको छ । विद्यार्थीले इनोभेटर कोर्सको दौरान तयार गर्ने प्रोजेक्टलाई भेन्चर क्यापिटलिस्ट प्यानल तथा स्टार्टअप फन्डसामु प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ ।
प्रबन्ध निर्देशक त्रिपाठी भन्छन् ‘यसो हुँदा कुनै पनि अव्बल विद्यार्थीले १२ कक्षा पुग्दा नपुग्दै बिउ पूँजी उपयोग गरी आफ्नो उत्पादन बजारमा ल्याई उद्यमी समेत बन्न सक्नेछ ।’
त्यसका अलावा कुनै पनि कोर्स सफलतापूर्वक सम्पन्न गरेपछि विद्यार्थीले विश्वका सबै ठाउँमा मान्यता पाउने आईबीएमको ग्लोबल सर्टिफिकेट पनि पाउनेछन् ।
भारतको टेक–एडु कम्पनी ट्रान्सन्यूरन टेक्नोलोजिजले आईबीएमको यो कार्यक्रमलाई आफ्नो सिकाइ व्यवस्थापन प्रणालीमा राखेर प्रवर्द्धन गरिरहेको छ ।
ट्रान्सन्यूरनले आफ्नो सिकाइ व्यवस्थापन प्रणालीमार्फत ३ करोडभन्दा बढी प्रयोगकर्ता १ लाखभन्दा बढी तालिम केन्द्र तथा ५० हजारभन्दा बढी रोजगारदाता कम्पनीलाई व्यवस्थापन गरिरहेको छ ।
ट्रान्सन्यूरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिवम् शर्माले भारत, नेपालजस्ता विकासशील देशमा रहेको सीप र श्रमबजार बीचको खाडल पुर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
शर्माले भने, ‘हाम्रो सिकाइ प्रणालीमा प्रत्येक स्कुलले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार आईबीएमका कोर्सको तालिका निर्माण गर्ने सक्ने हुनाले थप स्रोतको व्यवस्था नगरिकनै पढाउन सक्छन् ।’
‘हामीले कम्प्युटर ल्याब र कम्प्युटर शिक्षक भएका सामुदायिक स्कुल र प्लस टुका ५ हजार विद्यार्थीलाई प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा यो कोर्स उपलब्ध गराउने प्रस्ताव गरेका छौं,’ प्रबन्ध निर्देशक त्रिपाठीले भने ।
आईबीएम विद्यालय कार्यक्रम नेपालका सल्लाकार डा। सुभाष प्याकुरेलले स्कुलका बालबालिकालाई एकदमै उपयुक्त कार्यक्रम नेपालमा भित्रिएको बताए । ‘सही समयमा सही प्रकृतिको कार्यक्रम भित्रिएको छ । जसबाट नेपाल र नेपालीले विश्वबजारको बौद्धिकवृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्नेछन्,’ उनले भने ।
प्रतिकृया दिनुहोस