• २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025

 वर्षा याममा कान किन धेरै पाक्छ ? उपचार विधि के ?

वर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो ।

कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । वर्खा याममा मानिसहरु धेरै खेतवारीमा काम गर्ने गर्दछन् ।

उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरु पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्वीमिङ पुलमा जाने गर्दछन् ।

यो बाहेक पौडी खेल्न जाँदा कान भित्र पानी पसेर ईन्फेक्सन हुने सम्भावना बढी हुन्छ ।

कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ ।

वर्खाको समयमा धेरै कानका समस्याहरु आउने गरेका छन् ।

बच्चाहरुले ठूलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ । 

पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका विरामी समेत बढी मात्रामा आउने गरेका छन् ।

नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका विरामीहरु यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका विरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।  

कानको रोगका लक्षणहरु
– कान चिलाउने
– कान अत्याधिक मात्रामा दुख्ने
– कान डम्म हुने
– कान भित्रबाट पिप वा पानी वग्ने समस्या ।

अधिकाशं मानिसले कान अत्याधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाईन्छ । यसरी अनावश्यक रुपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ । 

उपचार विधि
कान अत्याधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कान भित्र पिप तथा पानी वग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

यसबाट कसरी बच्ने ?
– पौडी खेल्न जाँदा एयर प्लग लगाउने ।
– पौडी खेल्दा कान छोप्ने ।
– डाइभ भरसक नगर्ने ।
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने ।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन। धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढंगले हटाउनुपर्छ । वडले कानेगुजी हटाउँदैन ।

वडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ ।

कानले कानेगुजी आफै सफा हुने मेकानिज्म बनाएको हुन्छ । कानले जती कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफै फाल्छ ।

यस्तै, कान पाक्ने समस्या सम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ ।
 

-नाक, कान, घाँटी विशेषज्ञ डा घिमिरे विगत १० वर्षदेखि ग्राण्डी अस्पतालमा कार्यरत छन् । उनी नाक, कान, घाँटी विभागको प्रमुख समेत हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर