• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

सेटिङको शंकाः डिआईजी मनोज केसीको सरुवा लगत्तै बेचन झाले दिए यस्तो बयान

काठमाडौं । हिजो मात्रै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अनुसन्धानको भूमिका खेलेका बेचन झा पक्राउ गर्ने प्रहरी डिआईजी मनोज केसीको सरुवा गर्यो । 

अनुसन्धान नसकिँदै झालाई पक्राउ गर्ने भूमिकासमेत खेलेका केसीलाई सरुवा गरेपछि  गृहमन्त्री रमेश लेखकको हिजोदेखि नै आलोचना सुरु भईसकेको थियो । नेपालीलाई विदेशी बनाउने जस्तो अपराधिक काम गरेका झाले केसीसँग बयान दिन नमानेको चर्चासमेत चलेको थियो । 

अपराधि भनिएका झाकै रुची अनुसार सो काण्डमा मुछिएकाहरुको चाहानामा केसीलाई सरुवा गरिएपछि आज झाले बयान दिएका छन् । 

उनकाे बयानसमेत शंकाकाे घेरामा छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी गरेको कसुरमा पक्राउ परेका बेचन झाको पहिलो चरणको बयान सकिएको प्रहरीले जनाएकाे छ ।  

असार १३ गते पक्राउ परेका झामाथि ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ।  

झाले आफूमाथि लागेका सबै आरोपको इन्कार गर्दै बयान दिएका छन्। उनका दुई वटा मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट आउन बाँकी रहेको एसएसपी रजौरेले बताए। 

ल्याबबाट यस विषयमा कुनै प्रमाण खुलेमा त्यसको आधारमा थप बयान गराउने प्रहरीको तयारी छ। उनले मन्त्रिपरिषदसम्म मिलाउने भनेको यसअघिका प्रतिवादीहरुले बयान दिएकाले अनुसन्धान उच्च तहसम्म पुग्ने अनुमान प्रहरीको थियो। 

यसअघि पक्राउ परेका रामशरण केसीलाई सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरु गराउँछन् भनेको बयान दिएका थिए। 

उक्त निर्णयहरुको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी पठाउन सजिलो हुन्छ भन्दै बेचन झालाई चेक मार्फत २ करोड रुपैयाँ दिएको बयान रामशरण केसीले दिएका थिए।

यस्तै पूर्वगृहसचिव समेत रहेका प्रतिवादी टेकनारायण पाण्डेले बयान गर्दा मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ भन्दै झालाई मुछेका थिए। 

तर बेचन झाले भने उनीहरु दुवै जनालाई नचिनेको बयान दिएका छन्। 

‘टेकनारायण पाण्डेसँग त्यस्तो कुनै संवाद गरेको छैन। मैले नेपालीहरुलाई भुटानी नागरिक बनाई अमेरिका पठाउने कार्यका लागि कसैलाई पनि आश्वासन दिएको छैन। रामशरण केसीबाट मैले चेक लिएको छैन। निजहरुले मलाई किन यसरी पोल गरी बयान गरेका हुन्, सो बारेमा मलाई कुनै थाहा जानकारी छैन। टेकनारायण पाण्डे र रामशरण केसीसँग कुनै संवाद समेत नगरेको अवस्थामा समेत के कसरी अनुसन्धानमा मेरो नाम उल्लेख गरी बयान गरेका रहेछन्, सो बारेमा म अनभिज्ञ छु,’ झाले बयानमा भनेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर