• २०८२ जेठ २ बिहीबार
  • Thursday, 15 May, 2025

‘वामपन्थी एकता असफल भइसक्यो, अब कि एमाले कि कांग्रेसमा मिसिने’

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थीहरूको बीचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी दाङले आज (मंगलबार) घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कम्युनिष्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताए ।

‘नेताको टाउको जोडेर गरिने एकता दीगो हुँदैन । त्यो हामीले व्यहोरिसक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरुरी छ,’ उनले भने, ‘कम्युनिष्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक छ । यसरी बलियो राजनितीक शक्ति निर्माण गर्न सकिन्छ ।’

साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सिर्जना हुने अवस्था आएपछि दुई ठूला राजनीति दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलले स्पष्ट पारेका छन् ।

उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बीचमा सहकार्य भएको बताएका छन् ।

‘संवैधानिक संरचनालाई बलियो बनाउनेगरी दलहरूको बीचमा सहकार्य भएको हो । पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौं,’ उनले थपे, ‘हामीलाई विश्वास छ । संविधानको पक्षमा व्यापक र फराकिलो सहमति निर्माणको बाटोमा अघि बढ्छौं ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर