• २०८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024

काभा महिला भलिबल आजदेखि दशरथ रंगशालामा

काठमाडौं । आज बिहीवारदेखि शुरु हुने काभा महिला नेसन्स लिगमा नेपालले पहिलो खेल श्रीलंकाको सामना गर्दै छ।

नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले तयारी राम्रो भएकाले नेपाली टोली काभा लिगको फाइनलमा पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

प्रतियोगिताअगाडि बुधवार भएको पत्रकार सम्मेलनमा अरुणाले सहभागी ३ टोली बलिया रहे पनि यसपटक तयारी राम्रो भएकाले फाइनल खेल्ने बताएकी छिन्।

नेपालले बिहीवार श्रीलंकासँग खेल्दै ५ टोली सहभागी भएको प्रतियोगिताको यात्रा शुरु गर्दै छ। आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन दिएमा नतिजा राम्रो आउने कप्तान अरुणाको विश्वास छ। 

उनले सहभागीमध्ये ३ टोली राम्रो रहेको बताइन्। रसियासँगको खेलपछि रिसिभ र डिफेन्समा सुधार भएको पनि बताइन्।

पाहुना टोली श्रीलंकाले पहिलो खेल नेपालसँग खेल्दै छ। 

श्रीलंकाकी कप्तान श्रीनिवासनाले नेपालसँग घरेलु समर्थकको राम्रो साथ हुने उल्लेख गर्दै राम्रो खेल्दै जित्ने बताइन्। यसपटक श्रीलंका राम्रो टोली रहेको र नतिजा पनि राम्रो हुने उनको आशा छ।

प्रतियोगितामा सबैभन्दा बलियो टोली भारत हो। भारतले गत महिनामात्र एभीसी भलिबल च्यालेन्ज कपमा राम्रो प्रदर्शन गरेको छ। 

यसै प्रतियोगितामा सहभागीमध्ये एक इरानलाई हराउँदै भारत पाँचौँसमेत भएको थियो। भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी केएस पछिल्लो संस्करणमा पनि आफ्नो टोली च्याम्पियन रहेको र यसपटक पनि सोहीअनुरूप राम्रो तयारी गरेको बताइन्। 

उनले नेपाल र इरान पनि बलियो टोली रहेको उल्लेख गरिन्। नेपालसँग पछिल्लो भेट पनि राम्रो प्रतिष्पर्धा भएकाले यसपटक पनि सोहीअनुरूप प्रतिष्पर्धा हुने आशा उनले व्यक्त गरिन्।

माल्दिभ्सकी कप्तान जुजान जारिरले आफ्ना सिनियर खेलाडीबीच भलिबल खेल्ने भएकाले त्यसको अभाव हुने बताइन्। आफ्नो टोलीले राम्रो प्रतिस्पर्धा दिने उनको विश्वास छ।

प्रतियोगितामा इरान सबैभन्दा माथिल्लो वरीयताको टोली हो। इरानलाई भारतजस्तै बलियो टोलीका रूपमा हेरिएको छ। यसपटक इरानको टोलीमा औसत २१ वर्ष उमेरका खेलाडी भएकाले यो टोली युवा पनि छ। 

इरानकी कप्तान साघाएघ हासन खानीले तयारी राम्रो रहेको र यो युवा टोलीले नेपालमा राम्रो नतिजा ल्याउने इरानकी कप्तानले आशा व्यक्त गरिन्।

यो उपाधि जित्नका लागि नेपालले झन्डै २ महिनादेखि तयारीसमेत गरेको छ। प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ। 

यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटै सेट पनि आफ्नो पक्षमा पार्न सकेन तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकारात्मक सन्देश दिएको छ।

काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो। अरुणा शाहीको कप्तानीमा दुईजना नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो।

टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छन्। 

लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छन्। 

मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएका हुन्। यी दुईले रसियासँगको खेलमा राम्रो प्रदर्शन गरेका थिए।

महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन्। नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव छन्। 

नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा हुनेछ। नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर