• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

बालेनप्रति शंकर पोखरेलकाे टिप्पणीः 'राष्ट्रले भरोसा गर्न नसक्ने मानिस चर्चामा छन्'

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका हरेक क्षेत्रमाथि अविश्वास र चुनौती सिर्जना गरिएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित अन्य ट्रेड युनियन तथा संघ संगठनबाट एकीकृत र सामूहिक संगठन प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हरेक व्यक्ति र संस्थामाथि मानिसले प्रश्न उठाउने गरेका बताए ।

‘कोही यस्तो छैन कि मानिसहरूले गर्व गरुन्’ उनले भने ।  अहिले राष्ट्रले भरोसा नै गर्न नसक्ने मानिसहरू समाजको चर्चामा रहेका पोखरेलले टिप्पणी गरेका छन् । निरासा र कुण्ठा बोकेर मानिसहरूले खेल्ने काम गरेका पोखरेलको भनाइ छ । त्यस्ता मानिसहरूको कारण देश थप संकटमा परेको पोखरेलको धारणा छ । 

पोखरेलले नीतिगत नेतृत्वले मात्र समाज परिवर्तन गर्न सक्ने बताउँदै नीतिगत नेतृत्व बिना समाजलाई सही बाटो दिन तथा विकास र समृद्धिको बाटोमा लैजान नसकिने बताए ।

नेपालकै छिमेकीले यस बीचमा ठूलो प्रगति गर्नुको पछाडि स्थायी सरकार भएको पोखरेलले बताए । ‘राजनीति अस्थिरताको कारण नेपाल बन्न नसकेको हो भन्ने कुराको सच्चाइ हामीले बुझ्नु पर्दछ’, पोखरेलले भने । 

एउटा बलियो शक्ति नहुनुको परिणाम नेपालमा आवश्यक कानुन समेत बन्न नसकेका पोखरेलले बताए । त्यसैले मुलुकलाई सही हिसाबले अघि बढाउने हो भने बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक पर्ने पोखरेलले स्पष्ट पारे ।

सामाजिक मूल्यको विघठन गरेर राष्ट्रलाई कमजोर बनाउने एक खालका शक्ति लागेका बताउँदै पोखरेलले मौलिक संस्कृतिको संरक्षण महत्वपूर्ण रहेको उनले बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि मौलिक संस्कृति संरक्षण आवश्यक रहेको पोखरेलले बताए । नेपालको संस्कृति माथि जातीय अतिवाद, धार्मिक अतिवाद र धार्मान्तरणले आक्रमण गरिरहेको पोखरेलको भनाई छ । 

आज मुलुक चरम आर्थिक संटबाट गुज्रिरहेको बताउँदै पोखरेलले यसको अन्त्यका लागि उत्पादन अभिवृद्धिको काममा लाग्नु पर्नेमा जोड दिए । राजनीतिक दललाई कमजोर गराएर समृद्धिको यात्रा सम्भव हुँदैन भन्ने कुरा बिर्सन नहुने पोखरेलको भनाइ छ । समृद्ध नेपाल सुखी नेपाली परिकल्पनाकार केपी शर्मा ओली माथि अहिले पनि चौतर्फी घेराबन्दी रहेको पोखरेलले बताएका छन् । त्यसैले उनको अभियानको पक्षमा एक भएर नेपाली जनता लाग्नु पर्नेमा उनले जोड दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर