• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

ठूला दलले राष्ट्रिय सहमतिमा ठूला भ्रष्टाचार गर्छन्ः घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४०–५० करोडमाथिका भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०-५० करोडमाथिका कुनै पनि भ्रष्टाचारका मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने गरेको बताए ।

उनले ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने बताए । उनले ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए ।

उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताए । अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको भन्दै भूसालले पार्टीहरुले त्यस्ता मान्छे उत्पादन नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने बताए ।

उनले भने, ‘कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरु जन्मिदैनन् । भ्रष्टहरु पालित, पोषित हुँदैनन् । तिनीहरु संरक्षित हुँदैनन्, नेता बन्दैनन् ।’

महासचिव भूसालले नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको जिकिर गरे । समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको उनको आरोप छ ।

‘चुच्चे रेल आउँछ । काठमाडौंमा दुई वर्षमा आउँछ । अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरु सँग, के सँग भाष्य बिगारिदिनु भयो उहाँले । प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो’ महासचिव भूसालले भने । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर