महाकाली नदीले ड्याम भत्कायो,बस्ती नै जोखिममा
धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झण्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गा समेत कटानी गरेको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सिर्जना भएको छ ।
यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले यसरी नै जग्गा कटानी गर्दै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए ।
सार्कीकाअनुसार धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको छ । अब चाँडै तटबन्ध निर्माण नभए पूरै गाउँका बासिन्दाले विस्थापन हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
यसैगरी, कृष्णपुर नगरपालिका–२ बङ्कस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटानी गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको बताए ।
वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइने बताए । उनले भने, ‘तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।’ यसैबीच महाकाली नदीमा आएको बाढीले निर्माणाधीन महाकाली चार लेन पक्की पुल आयोजनामा क्षति पुर्याएको छ । महाकाली नदीको बाढीले आयोजना अन्तर्गत पोखरी निर्माण गर्न राखिएको बाँध कटान गरेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पोखरीका लागि ढुंगा र ग्राभेल हालेर बनाइएको बाँध महाकाली नदी कटान गरिरहेको हो ।
महाकालीको धार परिवर्तन गरेर कटान रोक्ने प्रयास जारी रहेको भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भुपेन्द्र सिंह रावलले बताए ।
प्रतिकृया दिनुहोस