• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

आइसिसी विश्वकप लिग २: ओमान विरुद्ध भिड्दै नेपाल

काठमाडौं । क्यानडासँग एक सय तीन रनले पराजित भएको नेपाल आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा बुधबार ओमानसँग खेल्दै छ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ । 

तथ्यांकअनुसार नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्रिवि क्रिकेटमा भएको खेलमा नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए । 

नेपालले ओमानविरुद्ध पहिलोपटक तीन सय रनको योगफल कटाएको थियो । विश्वकप लिग २ मा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहेको नेपालले बुधबार ओमानविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्नेछ । नेपालका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् । बलिङमा पनि मुख्य बलरले चाहिएको समयमा विकेट निकाल्न नसक्नु प्रमुख कमजोरी बनेको छ । क्यानडासँगको खेलमा नेपाल यी दुई पक्षमा चुकेको थियो । अझ डेथ ओभरमा नेपाली बलर निकै कमजोर देखिए । 

ओमानले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ । ओमानले चालू सिरिजका लागि ब्याटिङमा मिहिनेत गरेको छ । ओमानले क्यानडाको पिचअनुसार स्पिन पक्षमा विशेष ध्यान दिएको छ । ओमानको शीर्ष तथा मध्यक्रम ब्याटिङ बलिङ मानिन्छ । नेपालका सिमरहरूले उनीहरूका भरपर्दा ब्याट्सम्यानलाई क्रिजबाट हटाउने प्रयास गर्नेुपर्ने देखिन्छ । 

क्यानडाको किंग्स सिटीमा नेपाल सात महिनापछि एकदिवसीय फर्म्याटमा फर्कियो । तर, नेपालले एकदिवसीय खेलमा सुखद सुरुवात गर्न सकेन । आइसिसी विश्वकप लिग २ को आफ्नो दोस्रो सिरिज खेलेको नेपाल क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भयो । एकदिवसीय फर्म्याटमा नेपाल पहिलोपटक क्यानडासँग हारेको हो । यसअघि तीन अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपालले क्यानडामाथि जित निकालेको थियो । 

त्रिवि क्रिकेट मैदानमा नेपालले गत ८–१२ फेब्रुअरीमा क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ३–० को क्लिन स्विप गरेको थियो । नेपालले क्यानडामाथि नौ विकेट, चार विकेट र सात रनको जित निकालेको थियो । क्यानडासँग आइसिसी विश्वकप लिग २ मा प्रतिस्पर्धामा उत्रिएको नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा चुक्यो । 

मंगलबार बिहान किंग्स सिटीमा क्यानडाले नेपालविरुद्ध अन्तिम १० ओभरको ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रनको चुनौती योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल ४०.१ ओभरमा एक सय ५० रनमा समेटियो ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर