• २०८१ असोज १८ शुक्रबार
  • Friday, 4 October, 2024

चीनद्वारा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण, अमेरिका र जापान तनावमा 

एजेन्सी। चीनले बुधबार प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र स्थानीय समयअनुसार बुधबार विहान ८ बजेर ४४ मिनेटमा प्रक्षेपण गरिएको र ‘अपेक्षित समुद्री क्षेत्रमा खसेको’ चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

परीक्षण प्रक्षेपण नियमित र वार्षिक प्रशिक्षणको एक हिस्सा भएको मन्त्रालयको दाबी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले क्षेप्यास्त्रको प्रकार र यसको उडान मार्ग भने स्पष्ट नभएको जनाएका छन् ।

सामान्यतः चीनले आणविक हतियार परीक्षणहरू घरेलु रूपमा नै गर्ने गरेको थियो । यसअघि उसले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सिनजियाङ क्षेत्रको तक्लामाकान मरुभूमिमा परीक्षण प्रक्षेपण गरेको थियो । यसअघि चीनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा सन् १९८० मा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

पछिल्लो परीक्षणले चीनको अमेरिका र उसका साझेदारहरूबीचको तनाव थप चर्कने देखिएको छ । अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डोमेन्टका आणविक हतियार विशेषज्ञ अंकित पाण्डाले ‘चीनले नियमित र वार्षिक रूपमा यस्तो परीक्षण नगरेको’ बताउँछन् । ‘मलाई लाग्छ यो पहिलो पटक भएको छ र लामो समयमा यस्तो घोषणा गरिएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेको बीबीसीमा उल्लेख छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले ‘परीक्षण प्रक्षेपणका विषयमा बेइजिङले सम्बन्धित देशहरूलाई अग्रिम जानकारी गराएको’ जनाएका छन् । तर बीबीसीका अनुसार जापानले परीक्षण प्रक्षेपणबारे अग्रिम रुपमा कुनै पनि सूचना प्राप्त नगरेको जनाएको छ ।

‘चिनियाँ पक्षबाट पहिले कुनै पनि सूचना आएको थिएन,’ जापान सरकारका प्रवक्ता योसिमासा हयासीले पत्रकारहरूसँग भनेका छन् । जापानी रक्षा मन्त्रालयले चिनियाँ क्षेप्यास्त्र परीक्षणका क्रममा भने जहाजहरूमा कुनै क्षति नभएको बताएको छ । ‘हामी चिनियाँ सेनाको चालबारे जानकारी संकलन र विश्लेषण जारी राख्नेछौं र सावधानीपूर्ण तवरले सतर्कता र निगरानी गर्नेछौं,’ मन्त्रालयले भनेको छ ।

यसअघि चीलने १९८० मेमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यतिबेला उक्त क्षेप्यास्त्र ९ हजार ७० किमि उचाइमा पुगेर प्रशान्त महासागरमा अवतरण गरेको थियो । परीक्षणमा १८ वटा चिनियाँ नौसेनाका जहाजहरू समावेश थिए । त्यसलाई चीनको हालसम्मकै ठूलो नौसेना मिसनमध्ये एक मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर