• २०८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024

अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा वरपर खतरा, कहाँ के भयो ?

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरको जनजिवन अस्तव्यवस्त बनेको छ । बाढी, डुवान तथा पहिरोका कारण जनधनको क्षती हुन थालेको छ । अविरल वर्षा हुनेक्रम रोकिएको छैन । आईतबार मध्यान्नसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तुको बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक पुगेको छ।

जल तथा मौसम विज्ञान विभागद्वारा गएराति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक पुगेको उल्लेख छ।

चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ । यहाँ पानीको बहाव अझै बढ्दो क्रममा छ । 

त्यस्तै, काठमाडौँको बलकुमारमा मनोहरा, भक्तपुरको जागती र कौशलटारमामा हनुमन्ते खोला तथा ललितपुरको झरुवासीमा खोड्कु खोला र खोकनामा बागमतीको जलसतह खतराको तह पार गरेको छ ।

यसैगरी, रौतहट, बारा, धनकुटा, सिन्धुली, भोजपुर, धनकुटा र सुनसरीमा पनि विभिन्न नदी तथा खोलाको जलसतहले खतराको तह पार गरिसकेको छ ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।  

झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई बाढीलाई बगाएको हो।

शनिबार बिहानसम्मका सबै आन्तरिक उडान स्थगित गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ।

धादिङको मलेखु खोलामा माछा मार्न गएका बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएका छन् ।

संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा ठाउँठाउँमा गएको पहिरोले दिनभर अवरोध बन्यो । धादिङको धुनीबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा खण्ड राति ९ बजेसम्म पूर्णरूपमा अवरुद्ध बन्यो ।
मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । 

भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको विभागले जनाएको छ। विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर