• २०८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित 

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित भएको छ ।

दुई दिन देखि लगातार परेको वर्षा र त्यसले पारेको प्रभावका कारण आजको बन्दसत्र स्थगित गरिएको उपाध्यक्ष तथा प्रवक्ता जीपी मैनालीले जानकारी दिए । 

बन्दसत्रको बाँकी कार्यक्रम भोलि आईतबारदेखि फेरि सुचारु हुने उनले बताएका छन् । 

'हिजोदेखि भएको अविरल वर्षाको कारण जनजीवन प्रभावित भएकाले हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनकाे असोज १२ गते ११.०० बजे देखि सञ्चालन गर्ने भनिएकाे बन्दसत्र स्थगन गरि असोज १३ गते बिहान १२ बजेदेखि सञ्चालन हुने जानकारी गराइन्छ,' अध्यक्ष मण्डलले सूचना प्रकाशन गरेकाे छ ।

क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए । क्रान्तिकारीले यो सम्मेलनबाट नयाँ कार्यक्रम र नयाँ नेतृत्व चयन गर्नेछ । 

क्रान्तिकारीमा सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने  प्रयास सुरु भएको छ । अध्यक्षका लागि डेढ दर्जन नेताहरुले आकाँक्षा देखाएपछि क्रान्तिकारीका पूर्व अध्यक्षसहितको टोलीले सर्वसम्मत नयाँ अध्यक्ष चयन गर्नका लागि परामर्श सुरु गरेका छन् । 

शुक्रबारबाट बन्दसत्र सुरु भएर विधानमाथि छलफल अगाडि बढेलगत्तै संगठनका पूर्वअध्यक्षहरूले पार्टी नेतृत्वसँगसमेत सम्पर्कमा रहेर पहिलो चरणमा अध्यक्षमा सहमति जुटाउने प्रयासस्वरूप अनौपचारिक छलफल सुरु गरेका हुन्।

पूर्वअध्यक्षहरू हिमाल शर्मा, लेखनाथ न्यौपाने, रमेश मल्ल, रञ्जित तामाङ र निवर्तमान अध्यक्ष पञ्चा सिंहले पार्टी नेतृत्वसँगको सर्वसम्मत नेतृत्व चयनका लागि अनौपचारिक छलफल प्रारम्भ गरेका हुन्। अध्यक्षका लागि वर्तमान उपाध्यक्ष र महासचिवसहित १८ जना दाबेदार छन्।

आकांक्षीसँग ठोस औपचारिक छलफल नगरे पनि मनस्थिति बुझ्ने र सर्वसम्मतिका लागि विकल्प के हुन सक्छ भन्ने विषयमा बन्दसत्र सुरु भएसँगै अनौपचारिक संवाद सुरु गरिएको छलफलमा सहभागी एक पूर्वअध्यक्षले बताए। कार्यतालिकाअनुसार आगामी सोमबार मतदान ताेकिएकाे भएपनि एक दिन पछि सर्ने भएकाे छ ।

पहिलो चरणमा सहमतिको प्रयासका लागि अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासँग पूर्वअध्यक्षहरू छलफलमा जुटेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर