• २०८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024

बाढी–पहिरो अपडेटः देशभर ५० बढीको मृत्यु, १२ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।

शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।

उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

दुइदिनदेखि लगातार परिरहेकाे पानी शनिवार अपरान्हदेखि कम भएकाले उद्दार र राहतमा सहज हुने अनुमान गरिएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर