• २०८१ असोज १८ शुक्रबार
  • Friday, 4 October, 2024

इजरायली आक्रमणमा परेर हेजबुल्लाह प्रमुख मारिएका हुन् ?

एजेन्सी । इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

इजरायली सेना आईडीएफले आफ्नो लडाकु विमानले लेबनानको राजधानी बेरुतस्थित दहियाको एक आवासीय भवनमुनि रहेको हेजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा नसरल्लाह मारिएका जनाएको छ । मारिनेमा हेजबुल्लाह कमाण्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएका आईडीएफले जनाएको छ ।

हेजबुल्लाहले आफ्ना नेता नसरल्लाह मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ । नसरल्लाह सन् १९८२ मा हेजबुल्लाहमा आबद्ध भएका थिए । १९९२ मा मुसावीको हत्यापछि उनी हेजबुल्लाह प्रमुख बनेका थिए ।

यसअघि आइडीएफले हेजबुल्लाह मुख्यालयमा ‘निकै सटिक’ आक्रमण गरेको जनाएको थियो । नसरल्लाहको मृत्युपछि पनि इजरायलले दक्षिण बेरुतमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार शनिबारका आक्रमणमा ६ जना मारिएका र ९१ जना घाइते भएका छन् । योसँगै इजरायली सेनाले लेबनानमा सोमबारयता गरेका हवाई आक्रमणका ज्यान गुमाउनेको संख्या ८ सय पुगेको छ । त्यस्तै, हेजबुल्लाहले पनि इजरायमा केही आक्रमणहरू गरेको बीबीसीले जनाएको छ । आईडीएफले शनिबार विहानै लेबनानबाट १० वटा रकेट प्रहार गरिएको जनाएको छ ।

सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायतामा स्थापना भएको हेजबुल्लाह लेबनानस्थित सिया मुस्लिम समूह हो । १९८० को दशकमा गृहयुद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनान कब्जामा लिएको थियो । तर, हेजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गरेपछि २००० मे २४ मा इजरायल दक्षिणी लेबनानबाट फिर्ता हुन बाध्य भएको थियो ।

इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै समूहले आफ्नो सैन्य संगठन सुदृढ पारेको हेजबुल्लाहले दक्षिण लेबनानमा हजारौं लडाकु र ठूलो क्षेप्यास्त्र भण्डारण विस्तार गरेको छ । सीमा क्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको हेजबुल्लाहलाई अमेरिका, इजरायल लगायतका विभिन्न देशले आतंकवादी समूह घोषित गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर