डकं रुट हुँदै अमेरिका जान खाेज्ने नेपालीसहितका आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हान्यो
काठमाडौं । आप्रवासीहरू चढेको एउटा ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ को ज्यान गएको छ । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।
ट्रकमा ३३ जना आप्रवासीहरू थिए । उनीहरू नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो । मारिनेहरू कुन–कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
बच्न सफल १७ आप्रवासीलाई अध्यागमन अधिकारीसमक्ष बुझाइएको छ । बीबीसीले मेक्सिकोका अधिकारीहरुलाई उद्धृत गर्दै सैनिकहरू सीमा गस्तीमा रहेका बेला आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि सेनाले गोली चलाएको जनाएको छ । यद्यपि उक्त ट्रकमा विस्फोट भएको पुष्टि भइसकेको छैन ।
समाचार संस्था रोयटर्सले भने अधिकारीहरूलाई उद्धृत गर्दै मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा सैनिकहरूले आप्रवासी सवार ट्रकलाई चेकपोष्टमा रोक्न खोजेको तर नरोकिएपछि गोली चलाएको जनाएको छ । गोली चलाउने सैनिकहरूलाई निलम्बन गरिएको जनाइएको छ ।
अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् ।
प्रतिकृया दिनुहोस