• २०८१ असोज १९ शनिबार
  • Saturday, 5 October, 2024

लेवनानमा इजरायलको आक्रमणः नेपाली कति सुरक्षित ?

काठमाडौं । बिहीवार राति बेइरुतमा इजरेली हमला हुँदा झन्डै १५ वर्षदेखि लेबननमा काम गरिरहेकी कास्कीकी सरु गुरुङलाई आफू बसेको घरमा बम खसेको जस्तो लाग्यो।

बेइरुतबाट उनले बीबीसीसँग कुरा गर्दै भनिन्, “एकदमै ठूलो आवाज आयो। मैले हामी बसेकै क्षेत्रमा, हाम्रो घरमा नै आक्रमण भएछ भन्ने ठानेँ। अब मर्ने नै भइयो भनेर हात खुट्टा लगलग काँपिरहेको थियो। पाँच सात मिनेटसम्म घर नै हल्लिरहेको जस्तो लाग्यो। मुटु पनि ढुकढुक भइरहेको थियो।”

मध्यरात आसपास बेइरुतको दक्षिणमा पर्ने दहिया क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटन हुँदा उनी सुत्नलाग्दै थिइन्।

विस्फोटन केही रोकिए लगत्तै समाचार हेरेको बताउने उनले त्यसपछि मात्रै केही राहतको सास फेरेकी थिइन्।

उनी भन्छिन्, “डर त्रास जति भए पनि केही भइहाल्यो भने मरिने नै हो। सास हुन्जेल आशा हुन्छ। कहाँ रहेछ, के रहेछ भनेर समाचार हेर्न थालेँ। केही भइहालेको रहेछ भने तुरुन्तै गाडी बोलाएर बाहिर गइहाल्नुपर्‍यो भन्ने पनि महसुस गरेँ। पहिलाकै ठाउँतिर पड्काएको रहेछ भन्ने समाचारमा देखाएपछि अलिकति ढुक्क भयो।”

हिज्बुल्लाहका निशानाहरूलाई लक्षित गर्दै इजरेलले बेइरुतमाथि आक्रमण गरेपछि लेबननमा वैदेशिक रोजगारीमा गएका सिता गुरुङलगायत कैयौँको दैनिकी प्रत्यक्ष रूपमा नै खल्बलिएको छ।

अघिल्लो साता इजरेली सैन्य कारबाहीमा हिज्बुल्लाहका सैन्य कमान्डर हसन नस्रल्लाह मारिएका थिए।

उक्त आक्रमण गरिएको साँझ सरु बेरुतको उत्तर पूर्वमा पर्ने दोरा क्षेत्रमा रहेको आफ्नो कोठामा नै थिइन्।

उनी भन्छिन्, “त्यत्ति बेला शायद साढे ६ बजेतिर आक्रमण भयो। त्यो बेला म भान्सामा खाना बनाइरहेकी थिएँ। एकदमै ठूलो आवाज आयो। घर नै हल्लियो। के गर्ने कता जाने सोच्न पनि सकिएन।”

इजरेलले लेबननमा सिया मुलमानहरूको प्रभाव रहेको क्षेत्रमा जसमा हिज्बुल्लाहको प्रभाव रहेको ठानिन्छ त्यसलाई प्रमुख निशाना बनाइरहेको छ।

तर आफूजस्ता धेरै कामदारहरू इसाई बहुल क्षेत्रमा बस्ने गरेकाले ‘डर र त्रास’मा बसे पनि जोखिममा भने नपरेको गुरुङजस्ता कामदारहरू ठान्छन्।

उनले भनिन्, “हामी बसेको ठाउँबाट बम खसिरहेको ठाउँमा २०-२५ मिनेटमा पुग्न सकिन्छ। हाम्रोले थोरै उत्तर र थोरै दक्षिण क्षेत्र भेट्छ। इसाई क्षेत्र भएकाले सुरक्षित नै छ। तर पछि के हुन्छ थाहा छैन्।”

सरुका अनुसार उनी र उनकी अर्की एक साथी काममा जान छाडेको लगभग दुई हप्ता पुग्यो। कार्यालयहरू बन्द रहेका छन्। यो बीचमा सुरक्षाको कारण देखाउँदै अन्य चार जना साथीहरू पनि उनीहरूसँगै आएर बसेका छन्।

सरुले थपिन्, “कार्यालय बन्द भएकाले बाहिरफेर पनि निस्किरहेका छैनौँ। दिउसोचाहिँ एक दुई चोटि बम पड्केको आवाज सुनिन्छ। तर रात भर बम पडकिन्छ। सुत्नै पाइँदैन।”

बेइरुतमा निरन्तर भएका हवाई आक्रमणपछि त्यहाँ सुरक्षा जोखिम बढेको छ र लेबननको यात्रा नगर्न संयुक्त राज्य अमेरिकासहित कयौँ देशहरूले ट्राभल एडभाइजरी जारी गरेका छन्। कतिपय पश्चिमा देशहरूले आफ्ना नागरिकहरूको उद्धार अघि बढाएका छन्।

लेबनन पनि हेर्ने इजिप्टस्थित नेपाली राजदूत सुशील लम्सालले लेबननमा रहेका धेरै नेपालीहरूले पछिल्लो द्वन्द्वले आफूहरूलाई खासै प्रभाव नपारिरहेको धारणा राख्ने गरेको बताउँछन्।

उनले भने, “इजरेली सेना र हिज्बुल्लाहबीचको द्वन्द्व सीया बहुल क्षेत्रमा दक्षिणी लेबननमा छ। बेइरुतमा पनि छ। नेपालीहरू इसाई र सुन्नी मुसलमानहरू भएको क्षेत्रमा बढी रहेकाले त्यत्ति धेरै असर परेको छैन भन्ने कुरा उहाँहरूको छ।”

तर आफूहरूले लेबननको अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले केही नेपालीहरूले बेइरुतबाट फर्कन टिकट काटेको भएपनि विमानस्थलबाट उडान ज्यादै न्यून भइरहेको हुँदा उक्त योजना प्रभावित हुनसक्ने जनाए।

उनले अहिलेको अवस्था हेर्दा लेबननबाट नेपालीहरूको तत्कालै उद्धार गर्नुपर्ने अवस्था नदेखिएको जनाए।

“तर आवश्यकता परेमा हामीले त्यो व्यवस्था गर्नुपर्छ। हामी गर्छौँ।”

इजिप्टस्थित नेपाली राजदूतावासका अनुसार लेबननमा झन्डै १२ सय नेपाली कार्यरत छन् जसमध्ये अधिकांश घरेलु कामदारका रूपमा काम गर्ने गर्छन्। अन्य कतिपय उद्योग, रेस्टुराँ लगायतका क्षेत्रमा पनि काम गर्छन्।

यसै हप्ता नेपालको परराष्ट्र मन्त्रालयले लेबननमा विकसित घटनाक्रमका कारण नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको भन्दै त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको थियो।

परराष्ट्र मन्त्रालयले मन्त्रालयले नेपालीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाउँदै अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको थियो।

मन्त्रालयले लेबननमा रहेका नेपाली र तीनका आफन्तका लागि सहयोग एवं जानकारी उपलब्ध गराउने उद्देश्यले टेलिफोन नम्बरहरू सार्वजनिक गरेपनि त्यसमा एकाध व्यक्तिहरूले मात्रै सम्पर्क गरेको अधिकारीहरू बताउँछन्।

राजदूत लम्सालले द्वन्द्वको पृष्ठभूमि र आफ्ना लागि उपयुक्त हुने कदमबारे केही व्यक्तिहरूले सोधपुछ गरेको जानकारी दिए। बीबीसीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर