• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

राष्ट्रिय सभा अध्यक्ष दाहाल र आइपीयू अध्यक्षबीच शिष्टाचार भेट

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरव्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

स्वीटजरल्याण्डको जेनेभामा भएको भेटमा नेपालको संघीय संसद र अन्तरव्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानव अधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए। 

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको बताए। 

उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे। 

संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी रहेको जानकारी पनि अध्यक्ष दाहालले दिएका थिए। 

लोकतन्त्रका लागि, सबैका लागि भन्ने आदर्शमा अडिग रहँदै अन्तर व्यवस्थापिका संघले स्थापनाकाल देखि नै लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक पद्दति र लोकतान्त्रिक संस्था प्रवर्द्धनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ।

अन्तर व्यवस्थापिका संघका अध्यक्ष अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरेका थिए।

नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको उनले बताए। 

आइपीयूको सचिवालयलाई अझै व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताउनु भयो।

भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर