• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

उत्तर कोरियाले किन बम हानेर भत्कायो दक्षिण जोड्ने बाटो ?

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडकहरू विस्फोट गराई भत्काइदिएको छ । दक्षिण कोरियासँग पूर्ण रूपमा सम्बन्ध तोड्ने चेतावनी दिएको उत्तर कोरियाले मंगलबार दुई कोरियाली मुलुकलाई जोड्ने सडक भत्काएको हो ।

पश्चिमी किनारामा रहेको ग्योङ्गुई लाइन र पूर्वी किनारामा रहेको डोङ्घाई लाइन सडक उत्तर कोरियाले भत्काएको हो ।

दक्षिण कोरियाली सञ्चार माध्यम द कोरिया हेराल्डका अनुसार गत वर्षदेखि नै उत्तर कोरियाले सीमामा बारुदी सुरुङ बिछ्याउन सुरु गरेको थियो । दुई कोरियाली देश विश्वकै अति सुरक्षित सीमा संरचनाले विभाजित छन् । त्यसैले पनि उत्तर कोरियाको पछिल्लो कदमलाई सांकेतिक रूपमा हेरिएको छ ।

उत्तर र दक्षिण जोड्ने सडकहरू वर्षौंदेखि सञ्चालनमा पनि छैन । दक्षिण कोरियाली रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा दुई देशबीचको सीमांकन क्षेत्रमा रहेको सडक विस्फोटबाट उडाइएको देखिन्छ । त्यस्तै सडक भत्काउनलाई एक्स्काभेटर र ट्रकहरूसमेत प्रयोग गरिएको भिडियोमा देख्न सकिन्छ । सीएनएनका अनुसार दक्षिण कोरियाली सेनाले प्रतिक्रियास्वरूप उक्त क्षेत्रमा गोलीबारीसमेत गरेको छ ।

दोस्रो विश्वयुद्धमा भएको जितसँगै अमेरिका र सोभियत संघले कोरियालाई दुई देशमा विभाजन गरेका हुन् । सन् १९४८ मा भएको एकीकरणको प्रयास विफल भएपछि १९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धले छिमेकीहरूबीच खाडल झन् बढाइदियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर