• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

भाटभटेनीका साहुले एमाले पार्टी भवन बनाउने विषयले खैलाबैला

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कार्यालय भाटभटेनीका संचालक मिन बहादुर गुरुङले बनाइदिने भएसँगै एमालेभित्र विवाद चर्किएको छ । व्यवसायीसँग जग्गा र भवन अनुदान लिएर कार्यालय निर्माण गर्ने जिम्मा मिनबहादुर गुरुङलाई दिएसँगै एमालेकै नेताहरुबाट आलोचना सुरु भएको हो ।

एमाले स्थायी समिति सदस्य बिन्दा पाण्डेले सार्वजनिक रुपमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पार्टीले गरेको निर्णयप्रति असहमति जनाएका हुन् । सामाजिक संजाल एक्स (ट्वीवटर)मा भवन निर्माणप्रति आफ्नो विचार राख्दै स्थायी समिति सदस्य पाण्डेले भनेका छन्, ‘२५ वर्ष पहिला एकदिनको पारिश्रमिक मनमोहन मजदुर भवनलाई अभियानमा सहभागि हरेकले आज पनि जिफण्ट कार्यालय पुग्दा गर्व गर्छन । तर, आज साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सबैभन्दा ठूलो दलको कार्यालय निर्माणस्थल दानमा लिएर नेतृत्व गर्व गर्ने ठाउमा पुगेकै हो ?’

स्थायी कमिटी सदस्य पाण्डेलेको सो अभिव्यक्तिले एमालेभित्र खैलाबैला मच्चिन थालेको छ । पार्टीको निर्णयमा पार्टीभित्र ठूलो असहमति रहेको देखिन थालेको छ । पुर्वराष्ट्रपति विद्यदेवी भण्डारी निकट मानिने स्थायी कमिटी सदस्य बिन्दा पान्डेको सार्वजनिक असहमतिलाई अर्थपूर्ण मानिएको छ । गुरुङलाई पार्टी भवन बनाउन दिने निर्णय बारे पूर्व राष्ट्रपति विद्या भण्डारीले समेत चासो राखेको श्रोत बताउँछ ।

यस अघि पनि एमाले पार्टी कार्यालय पासाङ ल्हामु प्रतिस्ठानबाट संचालन भएको थियो  । त्यसपछि व्यवसायी राजेश अग्रवालले थापाथलीमा  उपलब्ध गराएको भवन बाट पनि संचालन भएको थियो ।

मीन बहादुर गुरुङ्लाई ललितानिवास जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पक्राउ गरेको थियो । केपि ओलि नै प्रधानमन्त्री हुँदा नै ललितानिवास जग्गा प्रकरणको छानविन सुरु भएको थियो । तत्कालिन समयमा ललिता निवास जग्गा प्रकरण सामसुम पार्न खोजिएपनि दाहाल नेतृत्वको सरकारले पुन अनुसन्धान गरी व्यवसायी गुरुङलाई पक्राउ समेत गरेको थियो । हाल उनी सो मुद्दामा धरौटीमा छुटिसकेका छन् ।

एमालेले गुरुङलाई २०८४ को निर्वाचनमा खोटाङबाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने तयारी गरिसकेको श्रोत बताउँछ । व्यवसायी गुरुङले एमाले पार्टी कार्यालय निर्माण गर्ने जिम्मा पाएकोमा खुशि व्यक्ति गर्दै एकवर्ष भित्र नै निर्माण सम्पन्न गर्ने बताएका छन् । एमाले कार्यालय ९ रेक्टरको भुकम्प धान्नुको साथै अत्याधुनिक हुने व्यवसायी गुरुङले बताएका छन् ।

२०७२ को भूकम्प पछि एमालेको आफनै केन्द्रिय कार्यालय छैन, अहिले एमालेले आफ्नो मुख्यालय तुल्सिलाल प्रतिस्ठानको भवन बाट संचालन गरिरहेको छ, जहाँ यसपाली बाढि पसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर