• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

डडेलधुरामा बस दुर्घटना : ४ जनाको मृत्यु, १२ घाइते

डडेलधुरा । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । 

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन्।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउँद छन्।

यस्तै, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको जनाइएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर