• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको विपक्षी दलहरूको शंका (भिडियाे)

काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको आशंका व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा 'गम्भीर छलफल' भएको नेता शक्ति बस्नेतले जानकारी दिए । 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै श्रेष्ठले भने, 'संसद् हुँदाहुँदै अध्यादेशबाट काम गर्ने नेचर हो उहाँको । साना दलहरू र उहाँले पूर्वाग्रह राख्ने दलहरूलाई तोड्नका लागि अध्यादेश ल्याउने कुरामा हामीहरूलाई ठूलो शंका थियो । पहिला पनि गरिसक्या भएर मुख्य रूपमा त्यही विषयमा बैठक बसेको हो ।'

सरकारमा रहेका साना दल भने पनि कुन-कुन दल हुन् भन्नेबारे उनले केही भनेनन् । सरकारमा सहभागी भएका नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जसपाको संसद्‍मा सिट संख्या थोरै छ । श्रेष्ठले भने, 'दुई तिहाई हुँदा पनि उहाँले अध्यादेशबाट सरकार चलाउनु भएको हो । सत्ता पक्षमा भएकै साना दलहरू फुटाउने तयारीमा हो कि या हामी नयाँ दलहरूप्रति पनि उहाँहरूले केही कदम चाल्न लाको हो कि भन्ने हामीलाई गम्भीर आशंका छ ।'

यसै विषयमा प्रतिपक्षी दलहरूले सरकार, सभामुख र राष्ट्रपतिसमेतको ध्यानाकर्षण गराउने पनि उनले बताए । 'पहिलाजस्तै अधिनायकवादी शैलीमा शक्तिको दुरुपयोग गरेर पेल्ने कदम चालेमा संसद्को विशेष अधिवेशन माग गर्ने राष्ट्रपतिकहाँ जाने भन्ने विषयमा छलफल भयो,' उनले अगाडि भने ।

समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । 

बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर