• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

सभापति लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

पक्राउ पुर्जी अनुमतिका लागि कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, डीएसपी बसन्तकुमार शर्मा अदालत पुगेका थिए । उनीहरु पक्राउ पुर्जी लिएर अदालत परिसरबाट बाहिरिइसकेका छन् ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए।

आज विहान मात्रै विपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई सरकारले पक्राउ गर्न सक्ने ब्रिफिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर