• २०८१ कार्तिक ३ शनिबार
  • Saturday, 19 October, 2024

रवि पक्राउ परेपछि सभामुखलाई पत्राचारः सांसद पद जान्छ ?

काठमाडौं । प्रहरीले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको बारे संघीय संसद प्रतिनिधि सभाका सभामुखलाई जानकारी गराएको छ । लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको हाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराए ।

'सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ,' पत्रमा भनिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराका पूर्वअध्यक्ष एवं संचालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा प्रस्तुत कसूरमा संलग्न देखिएको भन्दै लामिछाने पक्राउ परेका हुन् ।  

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्की लगिएकाे छ । 

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईले ग्यालेक्सी टेलिभिजन संचालन गर्न ल्याएकाे सहकारीकाे पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

रवि पक्राउ परपनि उनको सांसद पद भने यथावत रहने प्रावधान छ । सामान्यतः पक्राउ पर्दैमा सांसदको निलम्बन हुँदैन। अभियोगपत्र अदालतमा दर्ता भएर अदालतले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए मात्र कुनै पनि सदस्यको निलम्बन हुन्छ। 

प्रतिनिधि सभा नियमावलीको नियम २०४८ उपनियम ३ मा लेखिएको छ, ‘प्रचलित कानुन बमोजिम ३ वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ।’

प्रतिनिधि सभा नियमावली अनुसार पक्राउ पर्दैमा अहिले नै लामिछानेको सेवासुविधा रोक्का हुने छैन। प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सेवासुविधा रोकिने छ। अर्थात्, लामिछानेले त्यसपछि सांसदको तलब-भत्ता पाउने छैनन्। उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन्।

सांसद पक्राउ पर्दैमा वा उसलाई अभियोग लाग्दैमा पद जाँदैन। जिल्ला अदालतल कास्कीले दोषी ठहर गरेको अवस्थामा भने लामिछाने निलम्बनमा पर्नेछन्। उनले सफाइ पाए भने सांसदका रूपमा काममा फर्कन पाउँछन्।

लामिछानेले सहकारी अपचलनमा थोरै सजाय पाए र प्रतिनिधि सभाको कार्यकाल रहँदै थुनामुक्त भए भने उनले पुन: सांसदका रूपमा काम गर्न पाउँछन्।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ को ५ मा सफाइ पाए वा थुनामुक्त भए निलम्बन फुकुवाको सूचना सभामुखले संसदमा दिनुपर्ने व्यवस्था छ।

अहिले रविलाई अनुसन्धान गर्ने प्रयोजनका लागि मात्र पक्राउ गरिएको हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर