• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

गृहप्रशासनमा विकृतीः सिनियरलाई पन्छाएर ४ दिनका लागि डिआईजी सिफारिस

काठमाडौं । गृह मन्त्रालयले सिनियर प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई पाखा लगाएर किरण राणालाई ४ दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । 

बढुवा सिफारिस समितिले सिनियर दुई डीआईजीलाई पन्छाउँदै आइतबार राणालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो। श्याम ज्ञवाली अवकास भएपछि भदौ २४ गतेदेखि नेपाल प्रहरीको जनपद समूहतर्फ एआईजी पद रिक्त थियो । 

आइतबार बढुवाका लागि सिफारिस भएकी राणा भने १५ कात्तिकमा एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनपछि मात्रै बढुवा गर्न मिल्छ । प्रहरी नियमावली अनुसार १० कात्तिक मात्रै राणा बढुवा हुनेछिन् । 

उनलाई मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गर्नेछ । त्यसो भए पनि राणा जम्मा ४ दिनमात्रै एआईजी हुने पाउनेछिन् । उमेर हदका कारण १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएपछि १४ कात्तिक २०८१ मा राणाको बिदाइ हुनेछ ।

राणाले चार दिन एआईजी पद सम्हालेर अवकाश जादै गर्दा विशिष्ट तहको सुविधा प्राप्त गर्नेछिन् ।  यसअघि डीआईजी पोषराज पोखरेललाई दुई दिनका लागि एआईजी बनाउने प्रस्ताव गरिएको थियो । 

असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जादै थिए। ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको थियो ।

त्यसो त राणा भन्दा डीआईजी रामदत्त जोशी पनि सिनियर थिए । तर उमेर हदका कारण जोशी पनि कात्तिक १८ गते अनिवार्य अवकास हुनेछन्। उनीहरूकै ब्याचका कुवेर कडायत, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ वास्तोला पनि एआईजी बढुवाका प्रतिस्पर्धी थिए । 

हालका डीआईजीमा जोशी पहिलो नम्बरमा र गुरुङ दोस्रो नम्बरमा थिए।  त्यसपछि  दुर्गा सिंह थिइन् । जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखका रुपमा कार्यरत छन्। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत छन्।

पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण जोशी अवकाशमा गएको २ दिनपछि असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा गए । त्यही बेला सरकार परिवर्तन भएपछि सिफारिस भएर पनि पोखरेल एआईजीमा बढुवा भएनन्। बढुवा हुन नपाएपछि उनी सर्वोच्च अदालत पुगेका थिए । उनको निवेदन सर्वोच्चमा विचाराधीन छ ।

एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर