• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

लाईन नकाट्ने भए मन्त्रिपरिषदले निर्णय गरोस: कुलमान

ठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरी महसुल नतिर्ने उद्योगको नकाट्ने हाे भने सरकारले निर्णय गर्नुपर्ने सन्देश पठाएका छन् । अन्यथा मन्त्रिपरिषदबाट निर्णय नभए पूर्व सूचनाअनुसार लाइन काट्ने अडान राखेका छन् ।

मन्त्रिपरिषदको आज (बिहीबार) को बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने अडान कायमै राखेको ‘ब्रिफिङ’ गरेका हुन् । 

मन्त्रिपरिषद्बाटै बक्यौता नतिर्ने उद्योगको विषयमा निर्णय गर्नुपर्ने र त्यसो नभएमा बिहीबार रातिदेखि नै लाइन काट्न घिसिङ अडिग रहेको खड्काले जानकारी गराए ।

मन्त्री खड्काले मन्त्रिपरिषद्मा गरेको ब्रिफिङ उल्लेख गर्दै एक मन्त्रीले सुनाए, ‘सञ्चालक समितिमा भएका कुराबारे मन्त्री खड्काले क्याबिनेटमा ब्रिफिङ गर्नु भएको थियो । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई आजसम्म डेडलाइन दिएको रहेछ । उद्योगीहरूले बिल ल्याए बक्यौता तिर्छौं भन्नु भएको छ, कार्यकारी निर्देशक घिसिङले बिल दिइसकेको हो बक्यौता तिर्नुस् भन्नु भएको छ भन्ने मन्त्री खड्काको ब्रिफिङ थियो ।’

अर्का मन्त्रीले भने बक्यौता नतिरे उद्योगको लाइन काट्नेमा घिसिङ अडिग रहेको ब्रिफिङ ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद् बैठकमा गरेका थिए । ‘लाइन नकाट्ने भए उद्योगका विषयमा मन्त्रिपरिषदबाट निर्णय गर्नुस् भन्नु भएको छ । क्याबिनेट निर्णय गर्नुस्, नगरिए लाइन काट्छौं भन्ने घिसिङको भनाइ छ,’ मन्त्री खड्काले मन्त्रिपरषदमा सुनाएका थिए, ‘मैले सार्वजनिक लेखा समितिमा यो विषयमा छलफल चलिरहेको छ, त्यहाँबाट निर्णय भएपछि कुरा गर्नुपर्छ भनेको छु । तर घिसिङले क्याबिनेट निर्णय गर्नुस् भन्नु भयो, नत्र आज रातिदेखि लाइन काट्छौं भन्नु भएको छ ।’

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपभोग गरी बक्यौता नतिर्ने उद्योगी र प्राधिकरणका कार्यकारी प्रमुख घिसिङका विषयमा मन्त्रिपरिषद्बाट कुनै निर्णय भइनसकेको ती मन्त्रीहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर